• १५ वैशाख २०८१, शनिबार

चिकित्सा ऐनमा पूर्णता आवश्यक

blog

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने गरी चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ।

चिकित्सा शिक्षा आयोगको सोमबार बसेको ११ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सा क्षेत्रमा हालसम्मका विभिन्न अनुभवको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो। उहाँले देशको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षको समग्र अवस्थाको प्रतिविम्ब सबै क्षेत्रमा परेको भन्दै स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा रहेको बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले कैयौँ युवा चिकित्सकले लाखौँ खर्च गरेर अध्ययन गर्ने तर पारिश्रमिक ३० देखि ४० हजार रुपियाँसम्म हुँदा नेपालमा बस्न कठिन भएको बताउनुभयो। उहाँले विदेशमा चिकित्सकलाई धेरै सुविधा रहेको आफूले सुनेको उल्लेख गर्दै चिकित्सा क्षेत्रका समस्या हल गर्ने गरी ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले चिकित्सा शिक्षा आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुने गरी अगाडि बढाउनुपर्ने भन्दै देशमा रहेका विभिन्न समस्याको प्रतिविम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाइको आवश्यकता रहेको बताउनुभयो। उहाँले बैठकमा आयोगका सदस्यले राखेको धारणाले आफूलाई चिकित्सा शिक्षामा कहाँ समस्या छ र कसरी समाधान गर्नेबारे जानकारी लिन सहज भएको उल्लेख गर्नुभयो।

उहाँले चिकित्सालगायत देशमा विभिन्न क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै चिकित्सा क्षेत्रमा गुणात्मक सफाइको आवश्यकता रहेको बताउँदै चिकित्सा शिक्षा ऐनको पूर्णताले चिकित्सा क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। 

बैठकमा चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा आयोगको गतिविधिबारे प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले आयोगको जनशक्तिको प्रक्षेपण, भावी कार्यदिशा, भइरहेका कार्यव्रmमका बारेमा प्रस्ट्याउनुभएको थियो।