• ६ चैत २०८०, मङ्गलबार

भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नुहोस् : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशव गुरुङ

काठमाडौं, जेठ ८ गते । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीलाई भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न आग्रह गर्नुभएको छ । 

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनु भएको हो । 

उहाँले भन्नुभयो, ‘‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठुलो समस्या के छ भने आफूभित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौँ ।’’

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘म सभामुखमार्फत प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमान्दारिताका साथ अगाडि बढ्नोस् । लगनशीलताका साथ अगाडि बढ्नोस् । यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नुहोस् । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस् । काममा इमान्दारसाथ खटनेहरु र काम ठगहरू अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरू को–को हुन, त्यसको पहिचान गरेर खराब तत्त्वहरूलाई दण्डित गर्नुहोस् । असलहरूलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् ।’’

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताउनु भयो । 

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गर्नु भएको छ । 

अध्यक्ष ओलीको नामै नलिई उहाँले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताउनु भयो । आइतबार ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राख्नु भएको थियो । 

सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गर्नु भयो । उहाँले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराउनु भयो । 

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोपसमेत लगाउनु भयो । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठुलो समस्या रहेको पनि उहाँले दोहोराउनु भयो ।