लट २ को बाँकी काम एन्ड्रिज हाइड्रोलाई

कैलाश लामा

चरिकोट (दोलखा), पुस २७ गते । लक्ष्यभन्दा झण्डै चार वर्ष पछाडि धकेलिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ को बाँकी काम एन्ड्रिज हाइड्रोले गर्नेभएको छ ।  दोलखाको बिगु गाउँपालिका १ लामा बगरमा निर्माणाधीन आयोजनाको भारतीय ठेकेदार टेक्सम्याको रेल एन्ड इन्जिनियरिङले उक्त काम समयमा नगरेपछि उपठेक्का सम्झौता गरेर लट ३ मा काम गरिरहेको एन्ड्रिजलाई जिम्मा
दिइएको हो ।  सुरुङभित्र लोअर पेनस्टक (तल्लो पेनस्टक) को सबै काम एन्ड्रिजले गर्ने गरी आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी, टेक्सम्याको र एन्ड्रिज हाइड्रोबीच त्रिपक्षीय सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार टेक्सम्याकोसँगको सहमतिमै बाँकी काम एन्ड्रिजलाई दिइएको र एन्ड्रिजले आयोजनामा आर्थिक भार नथपिने गरी काम सम्पन्न गर्ने सहमतिमा लट २ को बाँकी कामको जिम्मा लिएको छ । टेक्सम्याकोले आफूले गर्ने बाँकी काम पनि समयमा सम्पन्न गर्न प्रतिबद्धता गरेको छ ।
आयोजना निर्माण शुरु भएदेखि नै लट २ को ठेकेदारले काममा ढिलाइ गर्दै आएको थियो । ठेकेदारले काम नगर्दा तामाकोसीको विद्युत् उत्पादन अवधि प्रभावित हुँदै गएको थियो । सम्झौतापछि आयोजनाको उत्पादन अवधि प्रभावित हुने जोखिम न्यून भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दाबी गर्नुभयो । उहाँका अनुसार अब निर्धारित तालिका बमोजिम २०७६ कात्तिकबाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुनेभएको छ ।
टेक्सम्याकोले नगरेको काम एन्ड्रिजलाई दिन ठेक्का तोड्नु नपरेको कम्पनीले जनाएको छ । ठेक्का सम्झौतामा यससम्बन्धी व्यवस्था छ । एन्ड्रिजले गर्ने कामको भुक्तानी टेक्सम्याकोको ठेक्का रकमबाट कट्टा हुनेछ । लट २ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट (ठाडो सुरुङ) जडानलगायत काम पर्छ ।
यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर शुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ ।
निर्माणाधीन ४५६ मेगावाट जलविद्युत् क्षमताको आयोजनाको करिब ९७.८ प्रतिशत निर्माण पूरा हुँदा साढे ४३ अर्ब रुपियाँ खर्च भएको छ । शुरुमा ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपियाँ लागत अनुमान गरिए पनि भूकम्प, नाकाबन्दी, ब्याज तथा अमेरिकी डलरमा आएको उतारचढावले लागत ब्याजसहित करिब ७० अर्ब रुपियाँ पुग्ने प्रक्षेपण छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds