पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई


राधा चालिसे

काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण कार्यको जिम्मा स्थानीय नगरपालिका वा गाउँपालिकालाई दिने तयारीलाई स्थानीय निकायले सकारात्मक रूपमा लिएका छन् ।
भूकम्पपछि पुनःनिर्माणको कार्यमा प्रक्रियागत झण्झट बढी भएकाले ढिलाई भइरहेको भन्दै प्राधिकरणले प्रभावित क्षेत्रका सबै स्थानीयहरूसँग समझदारी गरेर पुनर्निर्माणसम्बन्धी कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बुधवार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
ललितपुर महानगपालिकाका प्रमुुख चिरिबाबु महर्जनले पुनर्निर्माणको जिम्मा अघिल्लो आर्थिक वर्षदेखि नै स्थानीय तहलाई दिने भनिए पनि हालसम्म नदिएको बताउँदै महानगरपालिकालाई नै जिम्मा दिइएमा काम छिटो हुने बताउनुभयो । उहाँले कम जग्गा भएका कारण निजी आवास निर्माण गर्न नसकिरहेका लाभग्राहीको विषयमा ‘ल्याण्डपुलिङ’को अवधारणा ल्याउन लागिएको पनि जानकारी दिनुभयो ।
त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले पुनर्निर्माणको कार्यमा देखापरेका झन्झटिला प्रक्रियालाई कम गर्नका लागि स्थानीय तहलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले लाभग्राहीको सूचिमा छुटेका ५८४ परिवारको पुनसर्भेक्षण गरेर भर्खर प्रकृया अगाडि बढाएको बताउनुभयो । भारत सरकारको अनुदान सहयोगमा नुवाकोटमा पुनर्निर्माणको काम भइरहेको छ । अध्यक्ष घलेले साधन स्रोतसहित कामको जिम्मेबारी पाएमा समयमा नै पुनर्निर्माणको सम्पन्न हुने दावी गर्नुभयो ।
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेलले पुनर्निर्माणको कार्य ९५ प्रतिशत पूरा भइसकेको बताउँदै विभिन्न कारणले निजी आवास निर्माण गर्न नसकेका पाँच प्रतिशत लाभग्राहीलाई आर्थिक र प्राविधिक रुपमा थप सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले प्राधिकरणले स्रोत साधनसहित जिम्मेबारी दिएमा गाउँपालिकाले कामको जिम्मा लिने बताउनुभयो ।
हाल भूकम्प प्रभावित ३२ जिल्लाका २७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् । यसअघि प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटाछुट्टै समझदारी गरेको थियो ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली निजी आवास पुनर्निर्माणमा ढिलाई भइरहेका स्थानमा कामको गतिलाई तिब्रता दिन स्थानीय तहलाई जिम्मेबारी हस्तान्तरण गर्न लागिएको बताउनुभयो ।
प्राधिकरणले नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मीलाई आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी दिन लागेको हो । त्यस्तै, गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजना स्थानीयस्तरबाट कार्यान्वयन हुने बताइएको छ । जग्गा नभएका लाभग्राहीका लागि जग्गाको ब्यवस्थापन गर्ने र सुरक्षित वस्ती विकासको लागि पनि उपयुक्त जग्गाको ब्यवस्थापन गर्ने जिम्मेबारी पनि स्थानीय निकायलाई दिइने भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds