• १५ वैशाख २०८१, शनिबार

यातायात सेवा प्रविधिमैत्री बनाइने

blog

कास्की समाचारदाता 

कास्की, वैशाख १७ गते ।  पदभार ग्रहणलगत्तै बसेको तीन मन्त्रीपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ। 

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सवारीचालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न कार्यदलसमेत गठन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथलगत्तै बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ। 

यसअघिका मुख्यमन्त्रीकै कार्यकालमा गरिएको निर्णयलाई निरन्तरता दिँदै गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने अर्काे निर्णय गरिएको छ। 

रेडक्रसको भूमिका महत्वपूर्ण 

पोखरा समाचारदाताका अनुसार नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचाैँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेले कुनै पनि प्रकारका प्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले दैवीप्रकोप, पूर्वतयारी र प्रकोपपछिको अवस्थामा रेडक्रसको भूमिकाको प्रशंसा गर्नुभयो। 

निरन्तर छ दशकसम्म मानवीय सहयोगका लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै मुख्यमन्त्री पाण्डेले केही वर्षदेखि रोकिएको रेडक्रसको केन्द्रीय अधिवेशन अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

लुम्बिनी रेडक्रसका अध्यक्ष कृष्ण पङ्गेनीले प्रदेश संरचना नयाँ भएकाले यसलाई स्थापित गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो। 

रेडक्रस बागमतीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवेशनका लागि जिल्ला जिल्लाबाट दबाब दिनुपर्ने बताउनुभयो।