• १५ वैशाख २०८१, शनिबार

सिङ्गो गाउँपालिका विद्युतीकरण

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १२ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका पूर्ण रूपमा विद्युतीकरण भएको छ । टुकीमारा र टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनी ग्रिड निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् । 

गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकामा भएका कुन एक हजार दुई सय घरधुरी पूर्ण रूपमा विद्युतीकरणको पहुँचमा जोडिएको बताउनुभयो । जिल्लाका सातमध्ये सिङ्गो गाउँपालिका विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । उहाँले गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनी ग्रिड निर्माण भएर विद्युत् उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिका विद्युतीकरण भएको बताउनुभयो । जसमा ८५० घुरधुरी जनविद्युत्को पहुँचमा जोडिएको र ३५० घरधुरी सोलार विद्युत्मा जोडिएका हुन् ।

आठ करोड लागतमा जलविद्युत्मा कर्पुखोला जलविद्युत् आयोजनाको ११० किलोवाट विद्युत् उत्पादन भएको छ भने आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनी ग्रिडबाट १२५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उहाँले उत्पादित विद्युत्ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग पर्न सेवाग्राहीलाई सहज भएको बताउनुभयो । ताँजाकोट गाउँपालिका–३ का पदम रोकायाले पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयले विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको बताउनुभयो ।