• २० वैशाख २०८१, बिहिबार

मच्छिन्द्र र खुमलटार विजयी

blog

लिगमा प्रतिस्पर्धा गर्दै खुमलटार र मनाङका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, वैशाख ९ गते । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।

यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा खुमलटारले बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलले स्तब्ध बनायो । मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले गोल गर्नुभयो । फ्रेन्ड्सका राफिक अमिनुले सान्त्वना गोल फर्काउनुभयो । 

ग्याल्सेनले ४५औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाउनुभएको थियो । देवेन्द्रले ६३ औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाउनुभयो । ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गरेपनि टोलीको हार टरेन ।

लिगमा मछिन्द्रको यो चौंथो जित हो । जितसँगै मछिन्द्रले ११ खेलमा १६ अङ्क बनाएको छ । फ्रेन्ड्सको समान खेलबाट ११ अङ्क छ । 

यसैगरी दशरथ रंगशालामा मनाङलाई हार चखाउन खुमलटारको लागि दुवै गोल विदेशी खेलाडी मेसुके ओलुमोउले गर्नुभयो । मनाङका कोफी टिमोथी कुडोले सान्त्वना गोल फर्काउनुभयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार खेपेको थियो । १३औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई अग्रता लिदाउनुभएको थियो ।

५३औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ६१औं मिनेटमा मनाङका कोफी अर्को पेनाल्टीमा चुक्नुभयो । उहाँको प्रहार बाहिरिएको थियो ।

इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई महत्वपूर्ण जित दिलाउनुभयो । लिगमा चौथो जित निकालेको खुमलटारले ११ खेलबाट १३ अङ्क बनाएको छ । पराजित मनाङको १५ अङ्क छ ।