• १५ वैशाख २०८१, शनिबार

सामुदायिक वन महासङ्घमा ओझा चयन

blog

जिल्ला महासङ्घको नव निर्वाचित कार्यसमिति।तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ८ गते। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा सुरज ओझा निर्वाचित हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न महासङ्घको छैटौँ जिल्ला अधिवेशनले ओझालाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षतामा निर्वाचित गरेको हो।

जिल्ला अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।कार्यसमितिको उपाध्यक्षमा सीता राई, सचिवमा कमला पालुङ्गा र कोषाध्यक्षमा घनेन्द्र थापा चयन हुनुभएको छ।कार्यसमितिमा जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाट तीन–तीन र बाँकी स्थानीय तहबाट दुई–दुई जनाको प्रतिनिधित्व रहेको छ ।

अध्यक्ष र सचिव तथा उपाध्यक्ष र कोषाध्यक्षमा एक जना अनिवार्य महिलाको प्रतिनिधित्व हुनुपर्ने महासङ्घको विधानमा भएको व्यवस्थाअनुसार अधिवेशनबाट कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो।संयोजक थापाले नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यलाई शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण साथै निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

जिल्ला अधिवेशनको कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको थियो।यस्तै उद्घाटनमा सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय कोषाध्यक्ष पार्वता गौतम, कोशी प्रदेश समितिका अध्यक्ष तुलसीप्रसाद सङ्ग्रौलालगायतको उपस्थिति रहेको थियो।जिल्ला कार्यसमितिको कार्यकाल चार वर्षको हुन नवनिर्वाचित अध्यक्ष ओझाले जानकारी दिनुभयो ।