• १५ वैशाख २०८१, शनिबार

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

blog

पेरिस, वैशाख २ गते । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज (शनिबार) बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुभएको हो ।

उहाँले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताउनुभएको छ । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटि औँल्याएको छ ।

परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनकारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले ११२ जनालाई पक्राउ गरेको छ । पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए ।

कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् । रासस/एएफपी