• १५ वैशाख २०८१, शनिबार

लम्पी स्किन सङ्क्रमण जिल्लाभर फैलिँदै

blog

लम्पी स्किन रोग लागेपछि पशुको उपचार गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, चैत २५ गते । 
जिल्लाको विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । १५ दिनअघि जिल्लाको माथागढी–५, का किसानले पालेका पशुमा देखिएको लम्पी स्किन रोग माथागढीसँगै बगनासकाली, तानसेन, तिनाउ, रिव्दीकोट तथा रैनादेवी छहरामा फैलिएको छ ।

लम्पी स्किन रोग व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको फर्ममा समेत देखिएको छ । पछिल्लो केही दिनयता दूध उत्पादन गर्ने पशु फर्ममा समेत लम्पी स्किन देखिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

दूध उत्पादन गर्ने किसानको फर्ममा समेत लम्पी स्किन देखिएपछि किसान चिन्तित बनेका छन् । लम्पी स्किन रोग दूध उत्पादन गर्ने पशुमा समेत देखिएको तिनाउस्थित डुम्रेका किसान गोपाल जिसीले बताउनुभयो । जिल्लाभर फैलिएको लम्पी स्किन रोग आफ्नो दूध उत्पादन गर्ने पशुहरूमा समेत देखिएको जिसीले बताउनुभयो । यसले दूध उत्पादनमा ५० प्रतिशत बढी असर पार्ने चिन्ता उहाँमा छ । यो रोगको नियन्त्रणमा लागि तत्काल सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

हालसम्म जिल्लाका सात सय बढी पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । अधिकांश परम्परादेखि पालिँदै आएको गाई, गोरु, तिनका बच्चामा लम्पी स्किन सङ्क्रमण देखिएको केन्द्रका चिकित्सक नवीन बस्यालले जानकारी दिनुभयो । यो रोगको नियन्त्रणका लागि पालिकाका पशुसेवा शाखासँग मिलेर काम गरिरहेको उहाँले बताउनुभयो ।

पाल्पामा हालसम्म लम्पी स्किनका कारण कति पशु मरे भन्ने तथ्याङ्क नभए पनि किसानका अनुसार पशुहरूको मृत्यु पाँचदेखि १० प्रतिशत रहेको बताइएको छ । यो रोगको सङ्क्रमण फैलिएको गाई, गोरुको शरीरको विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निने, उत्पादनमा कमी आउने जस्ता लक्षणहरू देखिन्छ । यो रोग क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने पशु चिकित्सक बत्ताउँछन् ।

यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य बस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सक बस्यालले बताउनुभयो ।