‘भत्ता पाउन ७० वर्ष उमेर’


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । अब सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेर कानुनमै तोकिएको हो । दलित र एकल महिलाको हकमा भने ६५ वर्ष उमेर कायम गरिएको छ । सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले अन्तिम रुप दिएको हो । शनिबारको प्रतिनिधिसभा बैठकमा यो विधेयक प्रस्तुत हुँदैछ ।
विधेयकले सामाजिक सुरक्षा भत्ताको उमेर तोकेको थिएन । कतिपय अवस्थामा निर्वाचनको एजेण्डा नै बन्ने गरेको विषयलाई कानुनी रूपमा समय तोकिएको हो । राज्य व्यवस्था समिति सदस्य रेखा शर्माले सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर तोकिएको बताउनुभयो । शर्माले भन्नुभयो ‘हामीले सामाजिक सुरक्षा भत्ता पाउने उमेर तोकेका छौँ । जसमा दलित र एकल महिलाको हकमा ६५ र अन्यका हकमा ७० वर्ष उमेर तोकेका छौँ ।’
यसअघि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमेर ६५ वर्ष कायम गर्ने निर्णय गरेको दाबी गरे पनि औपचारिक रुपमा प्रमाणीकरण भएको थिएन । यस्तै, विधेयकले सामाजिक सुरक्षा भत्तामा स्थानीय तहमाथि नियन्त्रण राख्ने गरी विधेयक प्रस्ताव गरेको थियो । केन्द्रको नीतिअनुसार दिने सामाजिक सुरक्षा भत्ताकै शीर्षकमा थप रकम दिन नमिल्ने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षालाई केन्द्र सरकारको दायित्वमा राख्दै स्थानीय तहलाई कार्यान्वयनको भूमिकामा सीमित गरेको छ ।
विधेयकअनुसार सामाजिक सुरक्षा कार्यक्रम एकीकृत रूपमा सञ्चालित हुनेछ । सरकारी कोषबाट निवृत्तिभरण पाउने, कुनै सार्वजनिक तथा सरकारी पदमा नियुक्त भएका वा निर्वाचित व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । स्थानीय तहले जारी गरेको परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता दिइनेछ । स्वेच्छाले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका नागरिकलाई भने सम्मानको व्यवस्था गर्ने विधेयकमा प्रस्ताव छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds