• १५ वैशाख २०८१, शनिबार

बेपत्ता पारिएकाको छानबिन र सत्य निरुपणसम्बन्धी विधेयक दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २५ गते । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा आज दर्ता गरेको छ । 

सरकारले बिहीबार विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद् सचिवालयमा आज बिहीबार दर्ता गरेको जानकारी दिनुभयो । 

सो विधेयक सङ्क्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको बताउनुभयो । मन्त्रिपरिषद्को आजको बैठकले विधेयकलाई संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिन भित्रमा प्रतिनिधि सभाका सबै सदस्यलाई अध्ययनका लागि वितरण गरिने जानकारी दिनुभयो । विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनसुकै संसद् बैठकमा पेस हुने उहाँले जानकारी दिनुभयो ।  

सचिवालयमा दर्ता भएको विधेयक संसद् बैठकमा अघि बढाउने विषय राजनीतिक विषय भएको बताउँदै उहाँले सभामुखले राजनीतिक दलसँग छलफल गरी आगामी प्रतिनिधि सभा बैठकमा पेस हुने बताउनुभयो ।