• १५ वैशाख २०८१, शनिबार

सरकारको प्राथमिकतामा सुशासन छ: प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । फाइल तस्बिर

काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्य तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ। सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई "रिपोर्टिङ" गरेको हो।

"सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन", रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन। प्रधानमन्त्रीले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताउनुभयो।

कार्यदलका सदस्य सचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा "रिपोर्टिङ" गर्नुभएको थियो।