• १४ वैशाख २०८१, शुक्रबार

एसईईका परीक्षार्थी घटे

blog

राममणि दाहाल 

हेटौँडा, फागुन १८ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या गत वर्षभन्दा घटेको छ। यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा झन्डै छ हजार जना घटेका हुन्। 

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका अनुसार गत वर्ष एसईई परीक्षामा प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार ६२५ परीक्षार्थी सहभागी भएकामा यो वर्ष एक लाख एक हजार ७३३ परीक्षार्थी सहभागी हुँदै छन्। निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जिल्लाहरूबाट प्राप्त तथ्याङ्कअनुसार यस प्रदेशबाट एसईई परीक्षार्थीको सङ्ख्या घटेको पाइए पनि परीक्षार्थीको सङ्ख्या घट्नुको कारण भने अझै यकिन नभएको जानकारी दिनुभयो। 

आगामी चैत १७ देखि २९ सम्म हुने एसईई परीक्षाका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायम भएको छ। यो वर्षको एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी सहभागी हुने भएका छन्। निर्देशनालयका अनुसार काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र छन्। परीक्षार्थी र भूगोलका आधारमा परीक्षा केन्द्र तय गरिएको जनाइएको छ।

२३ परीक्षा केन्द्र रहेको भक्तपुर जिल्लाबाट पाँच हजार ८०५ जना, ३५ परीक्षा केन्द्र रहेको ललितपुरबाट नौ हजार ८९९ जना, ४७ परीक्षा केन्द्र रहेको काभ्रेबाट छ हजार ४३६ जना, २४ परीक्षा केन्द्र रहेको सिन्धुपाल्चोकबाट चार हजार ९८५ जना र २४ नै परीक्षा केन्द्र रहेको नुवकोट जिल्लाबाट चार हजार तीन सय परीक्षार्थी एसईई परीक्षामा सामेल हुँदै छन्।

यस्तै २६ परीक्षा केन्द्र कायम गरिएको धादिङ जिल्लाबाट पाँच हजार ३८६, २५ परीक्षा केन्द्र रहेको मकवानपुरबाट छ हजार ३३३, ४२ परीक्षा केन्द्र रहेको चितवनबाट १० हजार ८५६, २२ परीक्षा केन्द्र रहेको रामेछापबाट तीन हजार २२५, १९ परीक्षा केन्द्र रहेको दोलखाबाट तीन हजार ६२ र २६ परीक्षा केन्द्र रहेको सिन्धुली जिल्लाबाट पाँच हजार २४१ विद्यार्थीले यो वर्षको एसईई परीक्षा दिने भएका छन्। 

शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले निर्देशनालयले एसईई परीक्षाको उत्तर पुस्तिका छपाइ, व्यवस्थापन, केन्द्र निर्धारण, परीक्षा केन्द्र सञ्चालन गर्न केन्द्राध्यक्षको नियुक्ति र परीक्षा व्यवस्थापन एवं सञ्चालनलगायतका काम गर्ने जानकारी दिनुभयो। उहाँले राष्ट्रिय परीक्षा बोर्डसँगको समन्वयमा उत्तर पुस्तिका परीक्षण केन्द्रको अनुगमन, निरीक्षण र समन्वयको काम गर्ने बताउँदै एसईई परीक्षा सञ्चालनको अधिकार प्रदेश मातहत आइसके पनि सातै प्रदेशमा संरचनाहरू नभएका कारण बोर्डमार्फत नै सञ्चालन हुँदै आएको जिकिर गर्नुभयो।