• १४ वैशाख २०८१, शुक्रबार

सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, फागुन १६ गते । काभ्रेपलाञ्चोकलाई राजधानी काठमाडौँसँग जोड्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काममा थप ढिलाइ हुने भएको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको १६ किलोमिटर सडकखण्ड चालू आर्थिक वर्षबाट सुरु गरिएको हो । 

यो सडकखण्ड दुई स्थानबाट निर्माण सुरु गरिने सूर्यविनायक–धुलिखेल–बनेपा–सिन्धुली–बर्दिबास सडक योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका योजना प्रमुख इन्जिनियर रवीन्द्रलाल दासले सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि साइट सर्भेको काम अन्तिम चरणमा पुगेको बताउँदै एक साताभित्र साइट सर्भेको काम सम्पन्न हुने र त्यसपछि जोइन्ट सर्भेको काम अघि बढाइने बताउनुभयो । 

योजना प्रमुख दासले भन्नुभयो, “सर्भेको काम सकिएपछि हामी साँगादेखि धुलिखेल सडकखण्डको करिब चार किलोमिटर सडक निर्माणको काम सुरु गर्नेछौँ ।” उहाँले साँगादेखि धुलिखेल सडकखण्डमा काम सुरु गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोल हटाउनुपर्ने बताउनुभयो ।सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक निर्माणको क्रममा करिब एक दर्जन स्थानमा जोखिमपूर्ण मोड सुधार गर्नुपर्ने भन्दै यसका लागि करिब १८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताउनुभयो । 

सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक निर्माण हुनेछ । जसमा चार लेनमा सवारी गुड्नेछ भने दायाँबायाँ एक/एकवटा सर्भिस लेन बन्नेछ ।  सडकको बीच भागमा डिभाइडरका रूपमा तीन मिटरको मेडियन (सडक छुट्याउने भाग) रहने सो कार्यालयले जनाएको छ । 

तीन वर्षभित्र सडक निर्माणको काम सम्पन्न हुने दाबी उहाँले गर्नुभयो । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक २५ गज अर्थात् ७५ फिटको निर्माण गर्ने गरी डिजाइन गरिएको छ । योजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापती श्रेष्ठले सडक विस्तार गर्दा हुने क्षतिका बारेमा लगत सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । सूर्यविनायकदेखि साँगा आउने करिब डेढ किलोमिटर सडक भौगोलिक कारणले गर्दा चार लेनको मात्रै निर्माण हुने र सर्भिस लेन नबन्ने भएको छ । 

करिब डेढ किलोमिटर सडकलाई ग्रेड सेप्रेसन गरी साँगाबाट सूर्यविनायक जाने सडक करिब तीन मिटर अग्लो र सूर्यविनायकबाट साँगातर्फ आउने सडक तीन मिटर होचो बनाइने जानकारी उहाँले दिनुभयो । सूर्यविनायकदेखि धुलिखेलसम्म जगाती खोला पुल, महादेवखोला पुल र पुण्यमाता खोलामा गरी तीनवटा पुल निर्माण गर्नुपर्ने भन्दै पुल निर्माणका लागि छुट्टै बोलपत्र आह्वान गरिने भएको छ । 

साँगादेखि धु्लिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि चार अर्ब पाँच करोड ६४ लाख र सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक  निर्माणका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । सडक निर्माण गर्ने क्रममा काभ्रेपलाञ्चोकतर्फ २५६ र भक्तपुरतर्फ ५०५ वटा रुख कटान गर्नुपर्नेछ ।