• १५ वैशाख २०८१, शनिबार

चिटिक्क गढी दरबार

blog

बाबुराम देवकोटा

सिन्धुलीगढी (सिन्धुली), फागुन ४ गते । ‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो’

कृष्णविक्रम थापाले गाएको चर्चित गीतजस्तै अहिले सिन्धुलीगढी दरबार चिटिक्क परेको छ। भत्किएर भग्नावशेषमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा पुनर्निर्माण गरेको हो। 

कमलामाई नगरपालिका–३ स्थित उक्त दरबारको ऐतिहासिक महत्व रेहेको छ। यद्यपि केही वर्षअघिसम्म यो दरबार भग्नावशेषमा मात्र सीमित थियो। कमलामाई नगरपालिका–३ निवासी ७५ वर्षीय देवीप्रसाद सिग्देल भन्नुभयो, “अहिले उक्त दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि बेहुलीझैँ सिँगारिएर चिटिक्क भएको छ। अहिले सिन्धुलीगढी दरबार पुरानै लयमा फर्किएको छ।” लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरू नष्ट हुँदै गएपछि गत वर्ष माघदेखि बागमती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सुरु गरिएको कमलामाई नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार प्रदेश सरकारको चार करोड ३८ लाख ९९ हजार ५२२ रुपिया“को लागतमा गढी दरबार पुनर्निर्माण गरिएको हो। दरबारको पुनर्निर्माण कार्य गत जेठ १६ गतेभित्र सक्ने गरी सम्झौता भएको मा कोभिड–१९ का कारण पुनर्निर्माणमा केही ढिलाइ भएपछि म्याद थपेर गत पुस मसान्तभित्र सम्पन्न गरेको तुलसी/एरिसा जेभी भक्तपुरका रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पुनर्निर्माणको काम सबै सकिएको छ। अब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा लाग्नेछौँ।”

तत्कालीन समयमा पूर्व २ नं. क्षेत्रको प्रशासन सञ्चालन गर्ने सदरमुकाम (अड्डा)का रूपमा रहेको गढी दरबार वि.सं. २०२० जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणविहीन बनेको थियो। कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले गढी दरबारको ऐतिहासिक, पुरातात्त्विक महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण गरिएको बताउनुभयो। सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिका लागि परेको उहाँको भनाइ छ। 

यो दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेको इतिहासमा उल्लेख छ। दरबार बडाहाकिम र सेनाहरू बस्नका लागि निर्माण गरिएको शिलालेखमा उल्लेख छ। दरबारदेखि दक्षिणतर्फ गणेश, सरस्वती, लक्ष्मी मन्दिर, धारा, पश्चिममा इनार र पोखरी रहेको थियो। द्रुपद रानीको नाममा छोरा कर्णेल पुष्करविक्रम जवराले गढी दरबार पुनर्निर्माण गरी रानी दरबार नामकरण गर्नभएको थियो। गढी दरबार वि.सं. १९८६ कात्तिक २८ गते निर्माण सम्पन्न भएको शिलालेखमा उल्लेख भएको उहाँले सुनाउनुभयो। 

सिन्धुलीगढीमा नेपाली सेनाले युद्ध सङ्ग्रहालय निर्माण गरेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो  रहेको उहाँको भनाइ छ। सिन्धुलीगढी परिसरमा पृथ्वीनारायण शाहको सालिक, वनभोज स्थल, घेराबारलगायत काम सकिएका छन्। नेपाल अङ्ग्रेज युद्धका क्रममा अङ्ग्रेजहरूको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गर्ने कार्य थालिएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा वि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले कप्तान किनलोकको नेतृत्वमा आएका आधुनिक हतियारसहितको अङ्ग्रेज फौजलाई हराई विरासत जोगाएकाले गढीको ऐतिहासिक महत्व रहेको छ।