• १५ वैशाख २०८१, शनिबार

बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन ३ गते । म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

त्यस्तै, माालिका गाउँपालिकामा चार, रघुगंगा गाउँपालिकामा छ र अन्नपूर्ण गाउँपालिकामा ६३ वटा बङ्गुर मरेका हुन् ।

जिल्लाको सदरमुकाम नजिकै तथा ग्रामीण भेगमा पनि व्यावसायिक रूपमा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीको अनुगमनले फर्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । 

आचार्य भन्नुहुन्छ "सरदरमा एउटा बङ्गुरको मूल्य ३० हजार तोक्दा पनि एक करोड ४४ लाख भन्दा बढी मूल्य हुन्छ । कुनै बङ्गुर साना भए पनि धेरै जसो झण्डै ८०–९० केजी सम्म मासु भएको मरेको हुँदा कृषकहरूले करिब डेढ करोड रुपियाँको नोक्सानी व्यहोरेका छन् ।" उहाँका अनुसार बङ्गुर पालक कृषकले निकै ठूलो परिणाममा क्षति व्यहोर्नुपरेको भएपनि अहिले रोग नियन्त्रणमा आइसकेको छ ।

कृषकहरूले बीमा नगरेको हुनाले दाबी भुक्तानी पाउने अवस्था नरहँदा कृषकलाई नै समस्या भएको माालिका गाउँपालिका रुम घर भई बेनी नगरपालिका–७ अग्नि खेतमा बंगुरपालन गर्दै आउनुभएका कृषक टकबहादुर बुढाथोकीले बताउनुभयो ।

पहिलो पटक उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बङ्गुर मरेपछि पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । 

अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर नगर्ने तर बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको यही नै हो उपचार भन्ने नरहेको आचार्यले बताउनुभयो । बेनी नगरपालिकाका पशु प्राविधिक प्रदीप गौतमले बेनी नगरपालिका क्षेत्रमा जिल्लामै धेरै मृत्यु भएकोले यहाँका कृषकले धेरै क्षति व्यहोरेको जानकारी दिनुभयो ।

बेनी नगरपालिका भित्रका कृषकहरू रनबहादुर बुढाथोकी, श्यामकुमार गोतामे, बिना गोतामे, टकबहादुर बुढाथोकी, टिका रोका, पूर्वराज घर्तीले पालेका बङ्गुर मरेका हुन् ।

बेनी नगरपालिका–७ अग्नि खेतमा बङ्गुर पालेकी टिका रोकाले आफ्नो ८० केजीभन्दा बढी मासु भएको १८ बङ्गुर मरेको बताउनुभयो । समयमै नियन्त्रण हुन नसक्दा करोडौँ मूल्य पर्ने बङ्गुर मरेर नोक्सान भएको कृषकहरूको भनाइ छ ।

घरपालुवा सुँगुर–बङ्गुर तथा जङ्गली प्रजातिमा विषाणुका कारण सर्ने अफ्रिकन स्वाइन फिभर रोगको मोटालिटि शतप्रतिशत हुने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग अफ्रिकन स्वाइन फिभर फैलिन नदिन सुँगुर तथा बङ्गुर पालिएको खोर र फार्म परिसर सफा राख्ने र समय–समयमा निःसंक्रमण गर्नु पर्ने उहाँको भनाइ छ ।