• १४ वैशाख २०८१, शुक्रबार

नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुन निर्देशन

blog

बागलुङ समाचारदाता

बागलुङ, माघ २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन धौलागिरि अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । 

धौलागिरि अस्पताल बागलुङले आयोजना गरेको मुख्यमन्त्री तथा प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धौलागिरि अस्पतालको स्वास्थ्य सेवा तथा भौतिक प्रगतिमा सुधार नभएकोप्रति चित्त दुखाउनुभयो । 

मुख्त्रीमन्त्री अधिकारीले भन्नुभयो– ‘‘कुराले चिउरा भिज्दैन, नागरिकले गुणस्तरीय सेवा पाउनु मुख्य विषय हो ।” अस्पतालमा भएको जनशक्ति अभावको विषयमा लिखित रूपमा जानकारी गराए समाधान हुन्छ । उहाँले थप्नुभयो– “म स्वास्थ्यमन्त्री हुँदा बागलुङबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको थिएँ, यो नमुना अस्पताल बन्नुपर्ने थियो तर प्रगति हेर्दा सन्तोषजनक देखिएन । यस्तो निरिह तरिकाले हुँदैन, उत्कृष्ट किन भएन खोजी गरौँ, समस्या समाधान गरौँला ।” 

अस्पतालमा एक महिनादेखि स्त्रीरोग विशेषज्ञ नभएको भन्ने गुनासो आएपछि  सम्बन्धित मन्त्रालयलाई तुरुन्त पत्र पठाउन निर्देशन दिँदै उहाँले– “आमाको पेटबाट संसारमा आउन चाहन्छु भन्ने बच्चालाई जसरी पनि (सर्जरी गरेर) निकाल्नुपर्छ ।” 

उहाँले भन्नुभयो– “सर्जरी गरेर पनि बच्चा निकाल्ने चिकित्सक तथा उपकरण र उपचार सेवा नहुनु भनेको  सरकार नै नहुनु बराबर हो ।” अस्पताल व्यवस्थापन समितिले मुख्यमन्त्रीसहित बागलुङबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित सदस्यहरूलाई सम्मान गरेको थियो ।