• १५ वैशाख २०८१, शनिबार

सीता एयरलाइन्सले घटायो भाडा

blog

काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भरेको सीता एयरलाइन्सको ट्विनअटर जहाज । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २१ गते ।
 सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो ।

सीता एयरलाइन्सका ताप्लेजुङ कार्यालय इन्चार्ज श्रीप्रसाद खड्काका अनुसार काठमाडौं–ताप्लेजुङ साथै ताप्लेजुङ–काठमाडौं यात्रा गर्ने यात्रु नभएपछि भाडा घटाइएको हो । भाडा घटाएर हाल काठमाडौं–ताप्लेजुङका लागि नौ हजार तीन सय र ताप्लेजुङ–काठमाडौं नौ हजार एक सय रुपियाँ कायम गरिएको इन्चार्ज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि प्रतिव्यक्ति (यात्रु) काठमाडौं–ताप्लेजुङका लागि नौ हजार नौ सय रुपियाँ र ताप्लेजुङ–काठमाडौंका लागि नौ हजार सात सय रुपियाँ रहेको थियो । हवाई यात्रा गर्ने यात्रु नभएकै कारण एयरलाइन्सले भाडदार घटाउन बाध्य हुनुपरेको उहाँको भनाइ छ । केही समयअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुहरू नभएको उहाँको भनाइ छ । 

सीता एयरलाइन्सले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौं उडान तालिका रहेको छ । साताको तीन दिन उडान गर्ने तालिका रहेपनि यात्रु नभएकाले तत्काललाई सोमबार र शुक्रबार दुई दिन मात्र उडान सञ्चालन हुने खड्काले जानकारी दिनुभयो । यद्यपि, यात्रु उपलब्ध भएमा बुधबार पनि उडान हुने उहाँले बताउनुभयो ।

यस्तै, साताको एकदिन ताप्लेजुङ–भद्रपुरका लागि पनि सीता एयरलाइन्सको उडान तालिका रहेको छ । सीता एयरलाइन्सका अनुसार उक्त तालिका भए पनि हालसम्म यात्रु नभएपछि ताप्लेजुङ–भद्रपुर झापा एउटा पनि उडान भएको छैन । यात्रु भएमा तालिकाअनुसार नै उडान सञ्चालन गर्ने पनि एयरलाइन्सले जनाएको छ ।

शुक्रबार भने सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौं दुवैतर्फ पूर्ण सिट क्षमताअनुसार नै यात्रु बोकेको छ । कार्यालय इन्चार्ज खड्काका अनुसार जहाजको सिट क्षमताअनुसार नै काठमाडौंदेखि ताप्लेजुङ र ताप्लेजुङदेखि काठमाडौंका लागि १५/१५ जना यात्रुले यात्रा गरेका छन् । सीता एयरलाइन्सले बर्खा मौसमसँगै उडान बन्द भएको करिब आठ महिनापछि भर्खरैदेखि पुनः उडान सुरु गरेको हो ।

यता नेपाल वायु सेवा निगमले पनि ताप्लेजुङको सुकेटार विमानस्थलमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । नेपाल एयरलाइन्सले शुक्रबारको उडान भने मौसम प्रतिकुल भएकोभन्दै रद्द गरेको थियो । नेपाल एयरलाइन्सले पनि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको छ ।