• १५ वैशाख २०८१, शनिबार

जनतासामु गरेको बाचा नभुली पूरा गर्छु : उपप्रधानमन्त्री लिङ्देन

blog

भद्रपुर बिमानस्थलमा आइतवार अपरान्ह लिङ्देको स्वागतमा कार्यकर्ता । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, माघ ९ गते । उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताउनुभएको छ । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

“जितिसकेपछि आफूले गरेका प्रतिबद्धता र बाचा जनप्रतिनिधिले भुल्नेगरेको आरोप लाग्नेगरेको छ । तर म त्यो अवस्था आउन दिने छैन” लिङ्देनले भन्नुभयो । आफूले गरेका प्रतिबद्धता र बाचा पूरा गरेर देखाउने उहाँले बताउनुभयो । आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

राप्रपाका अध्यक्ष समेत रहनुभएका मन्त्री लिङ्देन सरकारमा सहभागी भएपछि पहिलो पटक आइतबार अपराह्न आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको गोल्धाप आउनुभएको छ । झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य लिङ्देनलाई पञ्चेबाजासहित नाँचगान गरेर क्षेत्र प्रवेश गराइएको थियो ।

आफ्नो क्षेत्र र मुलुकमा नै विकास निर्माणको युग सुरु भएको बताउनुभएको छ । लामो समयदेखि पछि परेको ग्रामीण क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै उहाँले यस्तो बताउनु भएको हो । “अब हाम्रो क्षेत्रमा विकास भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था आउने छैन र विकासको युगको सुरुवात भएको छ” लिङ्देनले भन्नुभयो । गोल्धापमा स्थानीयहरूसँग कुराकानी गर्दै लिङ्देनले यस क्षेत्रका जनताका कारण नै आफूले अहिलेको उपलब्धि हासिल गरेको भन्दै यस क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता पनि जनाउनुभयो ।

व्यवसायीको हितमा काम गर्छौँ

यसैबीच दमक उद्योग वाणिज्य सङ्घमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै मन्त्री लिङ्देनले व्यवसायीको समस्या र लगानीमा देखिएको समस्या समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्काको नेतृत्वमा मन्त्री लिङ्देनसँग भेटघाट तथा छलफल भएको सङ्घका सदस्य तुलसीराम तिम्सिनाले बताउनुभयो । 

केही दिनअघि निर्वाचित सङ्घका पदाधिकारी तथा सदस्यहरू लिङ्देन निवास हल्दिबारी गाउँपालिकाको गोल्धाप पुग्नुभएको थियो । उहाँले व्यवसायीहरूको अधिकतम हितमा लाग्नका लागि निर्वाचित पदाधिकारी तथा सदस्यलाई अनुरोध गर्दै आफ्नो तर्फबाट सबै प्रकारको साथ र सहयोग रहने पनि सो अवसरमा  बताउनुभयो ।