• १५ वैशाख २०८१, शनिबार

विमान दुर्घटनाप्रति मुख्यमन्त्री जम्कट्टेलद्वारा दुःख व्यक्त

blog

राममणि दाहाल 

हेटौँडा, माघ १ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराको लागि उडेको यति एअरलायन्सको विमान आइतबार बिहान पोखरा महानगरपालिका –१५, नयाँगाउँस्थित सेती नदीको खोचमा भएको दुर्घटनामा विमानमा सवार रहेका चालक दलका चार जनासहित ७२ जनामध्ये हालसम्म ६९ जनाको निधन भएको खबरले दुःखित भएको मुख्यमन्त्री जम्कट्टेलले शोक वक्तव्य जारी गर्दै भन्नुभएको छ । 

आइतबार साँझ जारी शोक वक्तव्यमा मुख्यमन्त्री जम्कट्टेलले नेपाली आकाशमा आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो मानवीय क्षतिसहितको विमान दुर्घटनाको दुःखद खबरले देश नै शोकमग्न अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ । दुर्घटनामा ज्यान गुमाउने विदेशी एवं नेपाली नेपाली नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तमा बागमती प्रदेश सरकारको तर्फबाट समवेदना व्यक्त गर्नुभएको छ ।

“बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा प्रदायक कम्पनी, नियामक निकायहरू, स्थानीय प्रशासन, सुरक्षा निकायहरूलाई संवेदनशील र जिम्मेवार भई लाग्न प्रदेश सरकार अनुरोध गर्दछ” मुख्यमन्त्रीद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।