• १५ वैशाख २०८१, शनिबार

मुख्यमन्त्री यादवसहित तीन मन्त्रीद्वारा शपथ ग्रहण

blog

धर्बेन्द्र झा 

धनुषा, पुष २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराउनुभयो । 

मुख्यमन्त्रीले शपथ लिएपछि यादवसँगै तीन जना अन्य मन्त्रीले शपथ लिनुभएको छ । नेकपा (एमाले) का तर्फबाट एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीको तर्फबाट सञ्जयकुमार यादव र जनमत पार्टीको तर्फबाट वसन्त कुशवाहाले शपथ लिनुभयो । तीनै जनालाई प्रदेश प्रमुख मिश्रले शपथ गराउनुभयो । 


मुख्यमन्त्री यादवले शपथ लिएपछि कार्यक्रममा सहभागी प्रदेश प्रमुख मिश्र, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवसहित मञ्चमा आसीन अतिथि र कार्यक्रममा सहभागी भएका पूर्व मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र कर्मचारीले बधाई तथा शुभकामना दिनुृभएको थियो । 

मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेपछि जनकपुरधामको प्रवेशद्वारमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरुप्रति माल्यार्पण गरेपश्चात् आजै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गएर पदभार ग्रहण गर्नुहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।