• १५ वैशाख २०८१, शनिबार

प्रदेश सभामुखमा तीन जनाको उम्मेदवारी

blog

बागमती प्रदेशको प्रदेश सभा सचिवालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, पुस २८ गते । बागमती प्रदेशको प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिनेछ । प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएकाले दस्तखतसहितको मत विभाजनबाट निर्वाचन गर्न लागिएको प्रदेश संसद् सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयमा बिहीबार बसेको सर्वदलीय बैठकले दस्तखतसहितको मत विभाजन कार्यविधिअनुसार प्रदेश सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन थापा र नेपाल मजदुर किसान पार्टीका सिर्जना सायजुको बिहीबार मनोनयन दर्ता भएको छ । प्रदेश सभाका प्रदेश सभामुखको निर्वाचन प्रक्रिया शुक्रबार बिहान ११ बजे गर्ने गरी निर्वाचन तालिका तय भएको छ । 

सर्वदलीय बैठकमा प्रदेश सभाका उपसभामुखको निर्वाचन कांग्रेस र नेकपा (एमाले) ले छलफल गरी मिति टुङ्गो लगाउने सहमति भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो ।

सभामुखको निर्वाचन लगत्तै शुक्रबार नै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनेगरी सर्वदलीय बैठकले निर्णय गरेको छ । नवनिर्वाचित सभामुखको शपथपछि बस्ने बैठकमा सभामुखले उपसभामुखको निर्वाचनका लागि मिति र कार्यतालिका सार्वजनिक गर्न प्रदेश सभाका सचिवलाई निर्देशन दिनुहुने छ । 

प्रदेश सभाका सभामुखको निर्वाचन पूर्व बस्ने प्रदेशसभाको बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्यले गर्ने र मन्त्रिमण्डल गठन तथा कार्यविभिजनसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने कार्यतालिका सर्वदलीय बैठकले तय गरेको छ । नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।