• १५ वैशाख २०८१, शनिबार

नौमती बाजा घन्काउँदै आमाहरू

blog

नवजागरण नौमती बाजा समूहका आमाहरू नौमती बाजाका साथमा । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १८ गते । आजकल गाउँघरमा नौमती बाजा लोप हुँदै जान थालेको छ । धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा विरलै देख्न सकिन्छ ।  पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा आजकल लोप हुन थालेको छ । हराउन थालेको छ । प्राय:जसो पुरुषले मात्र बजाउने नौमती बाजा आजकल महिलाहरूले पनि बजाउन थालेका छन् । 
बेनी नगरपालिका ४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ । नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन् । गाउँघरमा हुने विवाह व्रतबन्धलगायतका कार्यमा उनै आमाहरू वाद्यवादनका सामग्री बोकेर पुग्छन् । 
विवाह, व्रतबन्ध, धार्मिक कार्य र विभिन्न सभा समारोहमा प्रयोग गरिने नौमती बाजाको संरक्षणमा यहाँका आमाहरू जुट्न थालेका छन् । परम्परागत नौमती बाजा संरक्षणका साथै आमाहरूले राम्रो आम्दानीको स्रोत पनि बन्न थालेको छ । 
नौमती बाजा बजाउन तीन वर्ष अघि एक महिनाको तालिम लिएपछि आमाहरूले नौमती बाजा बजाउन पोख्त भएका हुन । आमाहरूले नौमती बाजा संरक्षणका लागि नवजागरण आमा समूह गठन गरेका छन् ।  समाजमा हुने विवाह, व्रतबन्ध तथा धार्मिक कार्य र बेनीमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा  आमाहरूको नौमती बाजा नै पहिलो प्राथमिकतामा पर्दछ ।  
सुरुसुरुमा कर्नाल फुक्न कठिन  थियो नौमती बाजा समूहकी माया शर्माले भन्नुभयो ‘अहिले त राम्रोसँग कर्नाल फुक्न सक्ने भएकी छु । कर्नाल फुक्न थालेपछि आजकल गाउँघरमा कर्नाले आमाको पहिचान बनेको छ ।’ विष्णु रसाइली नर्सिङ बजाउनुहुन्छ । भने रुक्सना रुचालले ट्याम्को बजाउन सिपालु हुनुहुन्छ । 
बजाउँदा बजाउँदै अहिले त सिपालु भएको छु ट्याम्को बजाउने रुक्सनाले भन्नुभयो ‘ बाजामा नाच्नेहरूले लामो ताल लगाउँदा अलि कठिन हुन्छ । छोटो छोटो तालमा त सजिलै बजाउन सक्ने भएकी छु ।’ नौमती बाजा हामे परम्परागत कला र संस्कृति हो यसको संरक्षणमा पुरुषले चासो नदेखाएपछि हामी महिलाहरू जुटेका हौँ विष्णु रसाइलीले भन्नुभयो ‘सिजनका समयमा भ्याई नभ्याई हुन्छ । सबैतिरबाट माग आउने गर्दछ ।’ 
तीन वर्ष अघि वडा कार्यालयले आमाहरूलाई एक महिने नौमती बाजा सम्बन्धी तालिम दिएको थियो । तालिम पाएपछि आमाहरू अहिले नौमती बाजा बजाउन सिपालु भएका छन् । म्याग्दीमा मात्र होइन आमाहरू छिमेकी जिल्ला पर्वत,बागलुङ र ठुला सहर पोखराका साथै राजधानीसम्म बाजा बजाउन पुग्ने गरेका छन् । 
विवाह, व्रतबन्ध र चौरासी पूजाको सिजनमा म्याग्दीका साथै ठुला सहरबाट पनि माग आउन थालेको छ नवजागरण आमाकी अध्यक्ष लक्ष्मी खत्रीले भन्नुभयो ‘समाजमा नौमती बाजा लोप हुँदै जान थालेकाले हाम्रो पुरानो कला र संस्कृतिको संरक्षणमा आमाहरू जुटेका हौँ । समूहमा १० जना महिलाहरू छौँ, सबै जना बजाउन सक्ने भएका छौँ । हाम्रो बाजा बजाउने सीप देखेर टाढा टाढाबाट पनि माग आउने गरेको छ ।’ हाम्रो यो अभियानमा घरपरिवारबाट पनि साथ सहयोग मिलेको उहाँ बताउनुहुन्छ । 
जिल्लाभित्र १५ देखि २० हजारसम्म र बाहिर जानुपरेमा ३० देखि ४० हजार रुपियाँ सम्म समूहले  दररेट तोकेको छ आमा समूहकी अध्यक्ष खत्रीले भन्नुभयो ‘बाजा बजाए बापतको आधा रकम कोषमा राख्छौँ र आधा समूहका सदस्यहरूले बाँडेर लिने गरेका छौँ ।’ कोषमा अहिलेसम्म दुई लाख रुपियाँ जम्मा भइसकेको उहाँले बताउनुभयो । कोषमा जम्मा भएको रकम बाजा मर्मत सम्भार र नयाँ खरिद गर्न प्रयोग गरिने खत्रीको भनाइ छ ।