सुन्तला उत्पादन चौँतीस प्रतिशतले कम

स्याङ्जा, पुस २७ गते । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा ३४ प्रतिशतले कमी आएको छ ।  गत वर्ष ३३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको स्याङ्जामा यस वर्ष २२ करोड रुपियाँ बराबरको मात्र सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानाकारी दिनुभयो । 

एक हजार ८४२ हेक्टर जमिनमा सुन्तला लगाइएकोमा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानाकारी दिनुभयो ।
यहाँ गत वर्ष २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
सुन्तलामा फूल फुलेर चिचिला लाग्ने समयमा असिना पर्दा सुन्तला उत्पादनमा कमी भएको वरिष्ठ कृषि विकास अधिकृत दवाडीले बताउनुभयो ।
कात्तिकबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकिलो एक सय रुपियाँसम्ममा बिक्री भएको जिल्ला सुन्तला व्यवसायी सङ्घका अध्यक्ष फणिनारायण अर्यालले बताउनुभयो । उहाँले यहाँ सुन्तला उत्पादनमा कमी आउँदा धैरै मूल्य भएको बताउनुभयो ।
यहाँ उत्पादित सुन्तलाको आधा आन्तरिक खपत र आधा बुटवल, पोखरा, नारायणगढ, काठमाडौँमा व्यापार गरिएको हो ।
एघार हजार ४५६ घरधुरी कृषक सुन्तला उत्पादनमा सक्रिय रहे पनि यस वर्ष असिनाका कारण धेरै कृषक मर्कामा परेको अर्यालले बताउनुभयो । यहाँ दुई हजार नौ सय साना ठूला सुन्तलाका बगैँचा रहेका छन् ।
असिनाले सुन्तला उत्पादनमा अर्जुन चौपारी १, २, ३, भिरकोट ६, पुतली बजार ११ मा ८० प्रतिशत कमी आएको छ भने अन्य ठाउँमा १० देखि ७० प्रतिशत सुन्तला उत्पादन कमी भएको जिल्ला सुन्तला व्यवसायी सङ्घका सचिव बोधराज अर्यालले बताउनुभयो । उहाँले ४५ रोपनीमा लगाइएको सुन्तला गत वर्ष छ लाख परेकोमा यस वर्ष साथीहरूलाई खुवाउनसमेत नपुगेको बताउनुभयो ।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानिय तह रहेको स्याङ्जामा सबै स्थानीय तहका धेरै ठाउँमा सुन्तला लगाउने गरिएको छ ।
सुन्तला जोनका रूपमा लिइएको स्याङ्जामा धेरै क्षेत्रमा सुन्तला लगाउने गरिएकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनका रूपमा घोषणा गरी काम गर्न अर्यालले आग्रह गर्नुभयो ।
जिल्लामा सुन्तला विकासका लागि परियोजना सञ्चालनमा भए पनि सहयोग पाउन नसकेको धेरै गुनासो कृषकको गुनासो छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds