जिल्ला न्यायाधीश खुला प्रतिस्पर्धाबाट

काठमाडौँ, मङ्सिर २८ गते ।  न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको रिक्त दरबन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  खुला तथा समावेशी रूपमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति प्रतिस्पर्धाबाट हुन लागेको हो ।  
आयोगले प्रकाशित गरेको सूचना अनुसार ३० जना न्यायाधीशको आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ ।  संविधानको धारा १४९ को खण्ड (ख) तथा (ग) बमोजिम आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।  सूचना अनुसार पुस २७ गतेसम्म दरखास्त दिन सकिनेछ ।  
आयोगले आन्तरिक खुला प्रतिस्पर्धाका लागि १५, खुला प्रतिस्पर्धाका लागि आठ, महिला दुई, आदिवासी जनजाति दुई, मधेसी दुई र दलितका लागि एक कोटा निर्धारण गरेको छ ।  यसअघि स्वीकृत पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ ।  
स्वीकृत पाठ्यक्रम अनुसार प्रथम पत्रमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणाली तोकिएको छ ।  यस्तै दोस्रो पत्रमा देवानी कानुन र देवानी कार्यविधि तोकिएको छ ।  तृतीय पत्रमा फौजदारी कानुन र फौजदारी कार्यविधि तोकिएको छ ।  चौथो पत्रमा मिसिल खण्ड हुनेछ ।  जसमा फैसला लेखन र मिसिल विश्लेषण रहेका छन् ।  
यही कात्तिक २८ गते आयोगले जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट गर्ने गरी पाठ्यक्रम स्वीकृत गरेको थियो ।  
रिक्त दरबन्दीमध्ये २० प्रतिशत भने यसअघिकै व्यवस्थाअनुसार पदपूर्ति हुनेछ ।  जसमा न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनका आधारमा नियुक्त गरिनेछ ।  बाँकी ८० प्रतिशत दरबन्दीमा भने खुला प्रतिस्पर्धा हुनेछ ।  प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ ।  लिखित र मौखिक दुवै परीक्षा हुनेछ ।  परीक्षाको योग्यताक्रमअनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।  
रिक्त दरबन्दीको ४० प्रतिशत भने न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतिस्पर्धा हुनेछ ।  सोही अनुसार १५ सिटका लागि विज्ञापन प्रकाशन गरिएको हो ।  बाँकी हुन आउने ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ ।  जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउने छन् ।  कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउने छन् ।  कानुन व्यवसायीले खुला प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।
 
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds