• १५ वैशाख २०८१, शनिबार

देउसी भैली खेलेकाे पैसाले न्यानो कपडा र खाद्यान्न वितरण

blog

खाद्यान्न तथा न्यानो कपडा वितरण गरेपछि सामूहिक तस्बिर । तस्बिर – राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, पुस ७ गते । देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट आश्रमका वृद्धवृद्धा र अतिविपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ । 

ब्युटिपार्लर एसोसिएसन स्याङ्जाले देउसी भैलो खेलेर सङ्कलन गरेको एक लाख ४० हजार रकमबाट सहयोग गरेको हो । एसोसिएसनका वालिङका सदस्यहरुले तिहारमा देउसी भैलो खेलेर रकम जम्मा गरेका थिए ।

एसोसिएसनले चापकोट नगरपालिका वडा नं. ६ केलादीघाटमा रहेको राधा दामोदर मन्दिरको वृद्धाश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको हो । आश्रममा रहेका ३० जना महिला र २ जना पुरुष ज्येष्ठ नागरिकलाई एक लाख बराबरको सामग्री वितरण गरिएको ब्युटिपार्लर एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो । 

यस्तै, सोही वडाका चार जना अतिविपन्न दलित समुदायका परिवारलाई ४० हजार बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । 

ब्यूटिसियन पेशामा आवद्ध महिलालाई समाजमा हेर्ने नजर अझै पनि सकारात्मक सोच नरहेको भन्दै त्यसलाई परिवर्तन गर्न आफूहरुले सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अर्यालले बताउनुभयो, उहाँले भन्नुभयो, “सहरमा भन्दा गाउँमा यो पेशामा संलग्न महिलालाई हेर्ने नजर राम्रो छैन हामीले त्यो सोच परिवर्तन गर्न सामाजिक कार्य गरेका हौँ ।”

गएको वर्ष पनि देउसी भैलो खेलेको रकमबाट रामनदीधाम राम्दीमा बस्दै आएका ज्येष्ठ नागरिकलाई सहयोग गरेको जानकारी गराउँदै अध्यक्ष अर्यालले पेशासँगै सामाजिक कार्यलाई निरन्तर जोडिरहेको जानकारी गराउनुभयो । 

विभिन्न पक्षको सहयोग र सहकार्यबाट वृद्धाश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकको जीवनयापनमा सहज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दाताहरु आइरहनुहुन्छ जसको कारण असहाय ज्येष्ठ नागरिकलाई निक्कै सहज भएको छ ।”

मन्दिरको आश्रममा बस्दै आउनुभएका नागरिकको संरक्षण र पालनपोषणका लागि नगरपालिकाले सहयोग गर्दै आइरहेको नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । 

वालिङमा रहेका २८ जना ब्युटिसियनले भैलो खेलेर सो रकम जम्मा गरेका हुन् ।