• १५ वैशाख २०८१, शनिबार

संसदीय दलमा पराजित भएपछि गगन थापाको प्रतिक्रिया

म निराश हुन्न, थप मेहनत गर्छु : महामन्त्री थापा

blog

फाइल तस्बिर

काठमाडौं, पुस ६ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको निर्वाचनमा पराजित भए पनि आफू निराश नहुने बताउनुभएको छ। 

बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो। थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पार्नुभयो। 

थापाले भन्नुभयो, ‘‘म कांग्रेसको महामन्त्रीको रुपमा काम गर्छु। नेपाली कांग्रेसको सांसद हुँ। सांसदको रुपमा काम गर्छु। नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो। मेरा लागि यो अपेक्षाकृत परिणाम होइन। मैले यो भन्दा धेरै राम्रो हुन्छ भन्ने सोचेको थिएँ। तर यसबाट म थाक्दा पनि थाक्दिनँ, निराश पनि हुन्न। अरु थप मेहनत गर्छु।’’

थापाले कुनै बेला पार्टीभित्रका बहुमत सांसदले आफ्नो एजेण्डालाई महसुस गर्ने र त्यो बेला सुखद परिणाम आउनेसमेत विश्वास व्यक्त गर्नुभयो। महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएकोसमेत बताउनुभएको छ। 

उहाँले सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूलाई मान्य नहुने बताउनुभएको छ।

उहाँले आजबाट नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन औपचारिक रुपमा छलफल सुरु गर्ने बताउनुभएको छ। 

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी भएको र गठबन्धनको पनि पहिलो पार्टी भएको हुनाले आज संसदीय दलको निर्वाचनसँगसँगै अब हाम्रो नेतृत्वमा सरकार बनाउने कुरा औपचारिक रुपमा प्रारम्भ हुन्छ। नेपाली कांग्रेसले गर्ने कुनै पनि निर्णय चाहे त्यो सरकारको आलोपालो होस्, चाहे त्यो राष्ट्रपतिको सन्दर्भमा होस्। ती कुनै पनि कुरा पारदर्शी भएनन् भने सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने ती निर्णय व्यक्तिगत निर्णयको रुपमा दर्ज हुन्छन्। त्यो कुरा म अहिले नै भनिराख्छु।’’