• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा सदस्यको शपथग्रहण

ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने

blog

नागरिकता अनुसार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ । 

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘सङ्घीय संसद् सचिवालयबाट ज्येष्ठ सदस्यको नाम सिफारिस भएर हिजो सोमबार आएको छ, भोलि बुधबार दिनको १ बजे उहाँको शपथ ग्रहणको तयारी गरिएको छ ।’’

ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्ट व्यक्तित्वका बारेमा छलफल भइरहेको छ । 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ । 

यसैबीच, सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा अन्य प्रतिनिधि सभाका सदस्यको निर्वाचन बिहीबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । 

शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्नेछ । साथै राष्ट्रिय पोसाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोसाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ । आफ्नै मातृभाषामा शपथ लिन चाहने सांसदले शपथको ब्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्नेछ । 

प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ । ज्येष्ठ सदस्यलाई  सभामुख निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।