• १५ वैशाख २०८१, शनिबार

सिन्धुलीको मरिणमा १२ कक्षासम्म निःशुल्क शिक्षा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस १ गते । सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने व्यवस्था गरिएको हो । 

निःशुल्क शिक्षाका लागि पालिकाले विद्यालयलाई वार्षिक अनुदान दिनेछ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार कक्षा ९ मा अध्ययनरत प्रतिविद्यार्थीलाई दुई हजार चार सय, कक्षा १० मा अध्ययनरतलाई तीन हजार रुपियाँ, कक्षा ११ मा अध्ययनरतलाई पाँच हजार र कक्षा १२ मा अध्ययनरतलाई चार हजार पाँच सय रुपियाँका दरले पालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “त्यसका लागि विद्यार्थीको हाजिर ७५ प्रतिशत पुगेको हुनुपर्छ । हाजिर ७५ प्रतिशत पुगेन भने अभिभावकले नै उक्त शुल्क तिर्नुपर्छ । विद्यार्थी भर्ना गर्ने बेलामै अभिभावक बोलाएर सचेत गराइएको हुन्छ ।”

विद्यार्थीको हाजिरसहितको रेकर्ड विद्यालयलाई चार÷चार महिनामा पठाउने र सोही आधारमा गाउँपालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउँदै आएको 

उहाँको भनाइ छ । उहाँका अनुसार गाउँपालिकामा रहेका ४८ वटा सामुदायिक विद्यालयमध्ये कक्षा ११ र १२ सञ्चालन भएका दुईवटा, कक्षा ९ र १० सम्म सञ्चालन भएका सातवटा विद्यालय छन् । 

उक्त पालिकाभित्र विपन्न परिवार धेरै रहेका र कतिपय शुल्क तिर्न नसक्दा कक्षा छाड्न बाध्य हुँदै आएका थिए । पालिकाले पढाइ शुल्क तिरिदिएपछि विपन्न वर्गका बालबालिकाले कक्षा १२ सम्म पढ्ने अवसर पाएका र अभिभावकलाई पनि राहत भएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा र खानेपानी निःशुल्क उपलब्ध गराउने अभियानमा गाउँपालिका लागेको र सोहीअनुरूप काम हुँदै गएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । जिल्लाका नौवटा स्थानीय तहमध्ये सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने मरिण गाउँपालिका पहिलो रहेको छ ।