• २२ असार २०८१, शनिबार

निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन

blog

निर्वाचन आयोग । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा त्यसता कार्यमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।  

शुक्रबार बर्दिया, सङ्खुवासभा र पश्चिम नवलपरासीका मुख्य निर्वाचन अधिकृत तथा कञ्चनपुर, प्युठान, मुस्ताङ, नुवाकोट र दार्चुलाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापविरुद्ध आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिएको हो । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेओइसी) मार्फत प्राप्त भएको सूचनाको आधारमा ती स्थानका अधिकारीहरूलाई आयोगले निर्देशन दिएको छ। 

जोओइसीमार्फत् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डा तोरण टाँसेको पाइएको, प्युठान पालिकाका पदाधिकारीहरूले आफ्नो पालिकाभित्र गठबन्धनको तर्फबाट प्रचारप्रसारमा संलग्न भएको, बर्दियामा विद्यालयतर्फका मतदानमा खटिएका छ जनालाई सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका कार्यहरू गरेको, पश्चिम नवलपरासीको बाक्वाणी माध्यमिक विद्यालय सुनवल (ख) केन्द्रका मतदान अधिकृतले आचरण विपरीत मादक पदार्थ सेवन गरेको, मुस्ताङमा जिल्लाभित्र केही स्थानमा पर्चा पम्प्लेट टाँस गरेको, नुवाकोटको लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकाको अनुगमन गर्दा केही स्थानमा ब्यानर, फ्लेक्स र झन्डाहरूलगायतका प्रचारप्रसारका सामग्रीहरू देखिएको सङ्खुवासभाका मतदान अधिकृतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको दार्चुलाको महाकाली नगरपालिका वडा नं.४ खलङ्गामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) द्वारा मोटरसाइकल र्‍याली आयोजना गरिएको सूचना आयोगलाई प्राप्त भएको छ । 

आयोगले यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार आवश्यक कारबाही गरी जानकारी गराउन  निर्देशन दिएको जनाएको छ ।