• १५ वैशाख २०८१, शनिबार

बी.पी. कांग्रेसको घोषणापत्र

संविधानलाई गतिशील दस्ताबेज स्वीकार्ने प्रतिबद्धता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २३ गते । बी.पी. कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठको घोषणापत्र जारी गर्दै संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार्ने प्रतिबद्धता जनाएको हो ।

पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाइ, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिने सो दलको प्रतिबद्धता छ ।  

पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आमसञ्चारमा सबै नेपालीको सहज पहुँच,  सर्वसुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रूपान्तरित गर्ने घोषणापत्रमा प्रतिबद्धता जनाइएको छ ।  

बीपी कोइरालाको सोचाइअनुरूप उत्पादन बुद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रूपमा प्रस्तुत गरिएको छ । देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने पनि उल्लेख छ । 

राजश्व सङ्कलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी ५ वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्राउने लक्ष्यकासाथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।  

आगामी ५ वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने र विद्युतीय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । खानेपानीको मूल स्रोत सुक्न नदिन त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा सो दलले जोड दिएको छ । 

सो दलका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी.पी.बाट ७८ प्रत्यक्ष र १ सय ७३ सदस्यहरू समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवार रहेको जानकारी दिनुभयो ।