• १५ वैशाख २०८१, शनिबार

जुम्लाका अध्यक्षसहित एमालेमा समाहित

blog

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपाने पत्रकार भेटघाटमा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, कात्तिक २१ गते । नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन् । एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका हुन ।  

एमाले जुम्लाले गरेको पत्रकार भेटघाटमा अध्यक्ष शान्तिलाल महतले दुई पार्टी समायोजन भएको जानकारी दिनुभयो । अध्यक्ष महत र नेकपा  एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टी समायोजन भएको जानकारी गराइएको छ ।   

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको औचित्य नदेखेपछि एमालेको मुलघरमा समायोजन भएको न्यौपानेले बताउनुभयो । हिजो एमालेबाट समाजवादी हुँदा जुन प्रकारको उद्देश्य लिइएको थियो । त्यो औचित्य पुष्टि नभएको उहाँको भनाइ छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा एमालेलेलाई पहिलो पार्टी बनाउन एकमत भएको बताउनुभयो । 

पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको उहाँहरूको भनाइ छ । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको भए पनि अब नेता कार्यकर्ता पुरानै घरमा फर्किन लागेको स्थानीय नेता कार्यकर्ताको भनाइ छ ।

एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतका अनुसार पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने दाबी गर्नुभयो । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ योगी रहनुभएको छ । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार हुनुहुन्छ ।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तीर्थ बुढाले एकीकृत समाजवादी पाटी यथावत् रहेको बताउनुभयो । बहुमत सदस्यसहित एमालेमै फर्केको भन्ने हल्ला मात्रै रहेको दाबी गर्नुभयो । 

कारबाहीको घोषणा 

नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासनको घोषणा गरेको छ । पार्टी महासचिव डा. वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन लागिएको  अवस्थामा जुम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदारीमा रहेकाहरूले पार्टी विरोधी शक्तिसँग साँठगाँठ गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भुसालको भनाइ छ ।