• १५ वैशाख २०८१, शनिबार

चितवन–२ मा त्रिपक्षीय भिडन्त

blog

शालिग्राम नेपाल 

चितवन, कात्तिक १३ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नं. २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच प्रतिस्पर्धा हुने देखिएको हो। 

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस नेता पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीलाई एमाले नेता पोखरेलले पराजित गर्नुभएको थियो। पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा अधिकारीको २७ हजार ३१४ मत आएको थियो। २०७४ को निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरी निर्वाचनमा होमिएका थिए। 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको अवस्थालाई हेर्दा क्षेत्र नं. २ को कालीका नगरपालिका र इच्छाकामना गाउँपालिका एमालेका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। भरतपुर महानगरपालिकाको १० वटा वडामध्ये तीनवटा वडामा एमालेले जितेको छ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नेता श्रेष्ठ प्रत्यक्षतर्फ पहिलो पटक निर्वाचन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। समानुपातिकतर्फ दुई पटक सांसद भइसक्नुभएका श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री हुनुहुन्छ। गठबन्धनको मत सबै गएमा र जनतालाई रिझाउन सकेमा जित्न सक्ने उहाँको विश्वास छ। श्रेष्ठ आफूले जित्नेमा विश्वस्त रहेको बताउनुहुन्छ। एकै व्यक्ति दुई पटकसम्म निर्वाचित भएकाले मतदाताले नयाँ उम्मेदवार खोजेको उहाँको भनाइ छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भने आफूप्रति जनताको आकर्षण रहेको र पुराना राजनीति दलबाट जनता वाक्क भएकाले आफूले जित्ने बताउनुहुन्छ। पत्रकारिताबाट राजनीतिमा आउनुभएका लामिछानेले चितवनको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा आएर क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराउनुभएको थियो।