• १५ वैशाख २०८१, शनिबार

गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३, साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुङ्गिने यो प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । 

प्रसारण लाइन र सबस्टेसनसमेत तयार भएसँगै खिम्ती र लिखुु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित दुई सय मेगावाटसम्म विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न पूर्वाधार तयार भएको छ । अहिले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी प्रणालीमा आबद्ध गरिएको छ । ती आयोजनाको विद्युत् गज्र्याङ–खिम्ती प्रसारण लाइनमा जोडिने भएको छ । 

स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माणमा केही ढिला हुने देखिएपछि गत वैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत यी आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको छ ।  प्रसारण लाइन निर्माण सम्पन्न गरी परीक्षण भइरहेको र केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

गर्ज्याङ सबस्टेसनमा १३२-३३ केभी, ३० एमभीए र ३३-११ केभी ६-८ एमभीए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मर जडान गरिएको छ । गर्ज्याङ सबस्टेसनबाटै स्थानीयवासीलाई विद्युत् दिइने भएकाले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ । आयोजनाको प्रारम्भिक काम आव २०६७-६८ देखि सुरु भएको थियो भने निर्माणका लागि पिङ्गाओ ग्रुप कम्पनी, चीनसँग २०७३ माघमा ठेक्का सम्झौता भएको थियो । 

उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवर्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवर्धक सम्बद्ध फ्रेन्डसिप इन्जिनियरिङले सबकन्ट्र्याक्टमा काम लिएको थियो तर कोभिड– १९ को महामारी, समयमा निर्माण उपकरण आयोजना स्थलमा ल्याउन समस्या र स्थानीयवासीको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो ।