• १५ वैशाख २०८१, शनिबार

सूचना प्रविधि विषयमा आठ देशका प्रतिनिधिबीच छलफल

blog

एसिया प्यासिफिक टेलिकम्युनिटी र दूरसञ्चार प्राधिकरणको आयोजनामा भएको कार्यशाला गोष्ठिको उदघाटनसत्रमा सहभागी अतिथिहरु । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज ४ गते । सूचना र सञ्चार प्रविधिको क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोग र यसको उपादेयता बारेमा छलफल गर्न दक्षिण एसियाली देशका प्रतिनिधिहरुबीच छलफल भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा सो विषयमा छलफल भएको हो । 

एसिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा धुलिखेलमा तीनदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोरोना सङ्क्रमणको समयमा भएको बन्दाबन्दी समयपछि नेपालमा सूचना प्रविधिको प्रयोग बढेको बताउनुभयो । “कडा खालको बन्दाबन्दी भएदेखि धेरै सङ्घसंस्थाले सूचना प्रविधिको माध्यमको प्रयोग गरी कामहरु सञ्चालन गरे” उहाँले भन्नुभयो । पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन आएको उहाँले बताउनुभयो । 

फाइभजी, नेपालजस्ता पहाडी क्षेत्रका उपभोक्तासम्म सेटेलाइट प्रयोगको माध्यमबाट सस्तो दरमा टेलिकम्युनिकेशन (दूरसञ्चार) सेवा पुर्‍याउने, वाइफाई, अप्टिकल फाइबर र आर्टिफिसियल इन्टेलिजेन्स बारेमा छलफल हुने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले जानकारी दिनुभयो । 

कार्यशालामा नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, भुटान, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स गरी आठ देशका ८० जनाको उपस्थिति छ । कार्यशालामा हङकङ, मेलेसिया, उद्योगका प्रतिनिधि, सेटेलाइट कम्पनीका प्रतिनिधिको समेत सहभागिता छ ।