• १४ वैशाख २०८१, शुक्रबार

जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

blog

टोकियो, भदौ ६ गते । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ ।

मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ वर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

उहाँलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् ।

कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उहाँको सचिवालयले जनाएको छ । उहाँ आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्नु हुने भएको छ । उहाँले कोरोना भाइरसविरुद्धको चौथो पटकको खोप पनि लगाइसक्नु भएको थियो ।

जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरसविरुद्धको खोप लगाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरु कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ ।  रासस/सिन्ह्वा