• १५ वैशाख २०८१, शनिबार

हवाई उद्धारले सुत्केरीको ज्यान जोगियो, शिशुको मृत्यु

blog

प्रादेशिक अस्पताल सुर्खेतमा शल्यक्रियापछि सुत्केरी ।

गोकर्ण दयाल 

बैतडी, भदौ ६ गते । बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पुर्‍याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दीपेन्द्र धामीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हवाई उद्धारले सुत्केरीको ज्यान जोगियो तर शिशुको मृत्यु भएको  चिकित्सकले जानकारी दिएका छन् । लामो सुत्केरी व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएकाले सुत्केरीको् ज्यान बचाउन शल्यक्रिया भइरहेको छ ।” 

सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका –६, थलाकाँडा स्वास्थ्य चौकीमा रहेकी २० वर्षीया सुत्केरी बिन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार दिउँसो सुर्खेतको प्रादेशिक अस्पताल लगिएको थियो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवति महिलाको हवाई उद्धार कार्यक्रमले सुत्केरीको ज्यान जोगिए पनि शिशुको मृत्यु भएको छ । बैतडी जिल्ला अस्पतालमै जटिल प्रसूतिको शल्यक्रिया सेवा भए पनि सडक यातायातको पहुँच नहुँदा सिगास गाउँपालिकाका सुत्केरी समस्यामा पर्दैआइरहेका छन् । 

सिगास गाउँपालिकाले बिगत पाँच वर्षदेखि आफ्नै डोजर किनेर सडक निर्माण गरिरहेको भए पनि एम्बुलेन्सलगायत सामान्य यातायात सञ्चालन हुनसक्ने सडक पूरा गर्न सकेको छैन । 

जिल्ला सदरमुकामसम्म सडक यातायात नहुँदा सिगास गाउँपालिकाका सुत्केरी लगायतका बिरामी छिमेकी जिल्ला बझाङ र डडेल्धुरा जानु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।