• १५ वैशाख २०८१, शनिबार

स्वास्थ्य स्वयंसेविकाको जाँगर

blog

बाबुराम शर्मा 

चरीकोट, साउन ११ गते ।  पचास वसन्त पार गर्नुभएकी दोलखाको शैलुङ गाउँपालिका–५ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका दुर्गा खड्काको जोश–जाँगर देख्नेहरू उहाँको प्रशंसा नगरिरहन सक्दैनन्। 
दुई छोरा र एक छोरीकी आमा भएपछि नेपाली सेनामा कार्यरत श्रीमान्ले सौता भिœयाएर उहाँलाई चटक्कै छोड्नुभयो। बालबच्चाको लालनपालन र घरसमेत सम्हाल्नुपर्दा कामको बोझसँगै पीर थपियो। स्वयंसेविका खड्का भन्नुहुन्छ, “यी सबै पीर सेवाको कामले बिर्सिरहेकी छु, नत्र भने बहुलाउने थिएँ हुलाँ। घरमा रहँदा सम्झना आउँछ तर गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागेपछि सबै पीर चटक्कै बिर्सन्छु। आफ्नो काममै दत्तचित्त रहन मन लाग्छ।” 

काममा जोश–जाँगर भए पनि उहाँका केही गुनासा रहेका छन्। उहाँले भन्नुभयो, “मैले श्रीमान्को पेन्सन भागसमेत पाएकी छैन। अरू स्वास्थ्यकर्मीको जस्तै काम हो तर सेवासुविधा भने न्यून रहेको छ। भेदभाव भएजस्तो लाग्छ तर स्वयंसेवक बनेर काम गर्छु भनेर प्रतिज्ञा गरेकी छु। काम छोडेपछि सरकारले केही राहत दिए हुने थियो। बुढेसकालमा रित्तो हात हुनुपर्दा चिन्ता लाग्दोरहेछ।” 

पाएको अरू जागिरसमेत बेवास्ता गरेर १८ वर्षको उमेरदेखि स्वास्थ्यमा काम गर्दै आएको उहाँले बताउनुभयो। सकुञ्जेल सेवाको काम नछोड्ने उहाँको अठोट छ। गाउँगाउँमा पुगेर महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा दिन पाउँदा गौरव लाग्ने उहाँ बताउनुहुन्छ। 

चिकित्सकको पहुँच नभएका गाउँमा महिला स्वास्थ्य स्वयंसेविका नै चिकित्सक भएर काम गरिरहेका छन्। गर्भवती महिलादेखि सुत्केरी तथा शिशुको स्याहारसुसार, पोषण, खोप कार्यक्रम आदिका बारेमा जनचेतना फैलाउनेदेखि सन्तानसम्बन्धी पारिवारिक योजना बनाउनसमेत महìवपूर्ण भूमिका उनीहरूले निर्वाह गर्दै आइरहेका छन्। 

दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका यस वडाभित्र रहेका प्रत्येक टोलबस्तीका पहिलो चिकित्सक हुन् भनेर समुदायमा स्थापित भएको वडाध्यक्ष दिलकुमार तामाङले बताउनुभयो। 

वडामा १५ जना  महिला स्वयंसेविकाले सेवा दिँदै आइरहेका छन्। सरकारको ६० वर्षे अवकाश नियम भए पनि आमा समूहको हटाउने सिफारिस नआएसम्म उनीहरूलाई हटाउन सकिँदैन। उनीहरू आमा समूहकै सिफारिसमा नियुक्त भएका हुन् र उनीहरूमा अन्य नियम कानुन लागू हुँदैन। 

भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्यामबहादुर खड्का स्वास्थ्य स्वयंसेविकाका बारेमा जबरजस्ती गर्न नपाइने बताउनुहुन्छ। नियुक्ति पाएपछि २४ दिने तालिम लिएका उनीहरूलाई प्रोत्साहनस्वरूप एकमुस्ट सङ्घबाट वार्षिक १० हजार पोसाक भत्ता, प्रदेशबाट साढे दुई हजार, छ हजार यातायात खर्च, तालिम, गोष्ठी तथा राष्ट्रिय कार्यक्रममा खटेबापत दैनिक चार सय रुपियाँ भत्ता पाउने गर्दछन्।