• १३ साउन २०८१, आइतबार

अनुशासन कायम राख्न खेलकुदमन्त्रीको निर्देशन

blog

राखेपद्वारा आयोजित स्वागत कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौँ, चैत १ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिनुभएको छ । 

राखेपले बोर्डका अध्यक्षसमेत रहनुभएका खेलकुदमन्त्रीको स्वागत र बधाई कार्यक्रममा उहाँले खेलकुदमा अनुशासन कायम राख्न निर्मम बन्न र पछि नहट्न निर्देशन दिनुभएको हो । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसको कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटो ल्याउन ऐनमा रहेर निर्मम बन्नुपर्ने औँल्याउनुभएको हो । 

दशकौँसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल सङ्घलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न निर्देशन दिनुभयो । देशले उच्चतम राजनीति व्यवस्थामा काम गरिरहेको अवस्थामा खेल सङ्घ र खेल व्यक्तित्वहरू सामन्ती सोचमा काम गरिरहेको भए कारबाही गर्न डराउनु नहुने बताउनुभयो । समावेशिता र सहभागीका लागि भएका आन्दोलनलाई स्थापित गर्न नसक्ने खालका गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ छ । 

सम्भावनाका आधारमा खेल सङ्घहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने हो । उपलब्धि भएका र नभएकालाई एउटै आँखाले हेर्न सकिन्न ।  सबै एकै पटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्छ । नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणीकरण हुनेछ ।’’

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले बधाई तथा स्वागत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राख्नुभयो । उहाँले नीति कार्यान्वयन गर्ने सवालमा आफ्ना, परका वा पृष्ठभूमिका आधार मानेर छुट्याउने प्रयास नभए सफलता मिल्ने बताउनुभयो । नीति कार्यान्वयन गर्ने सवालमा आफ्ना मान्छे पनि पर्नसक्ने भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराउनुभयो ।  

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले परिषद्का संरचनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएसँगै खेलकुद नियमावली, २०७९ जारी भइसकेको उल्लेख गर्नुभयो । 

उहाँले कर्मचारी सेवा सर्त विनियमावली र आर्थिक प्रशासन विनियमावलीको अन्तिम तयारीमा रहेको बताउनुभयो । राखेपले नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरेको हो ।