• २४ वैशाख २०८१, सोमबार

बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै धरान र मोरङका खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई

धरान, फागुन ३० गते । मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । 

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा धरानका मिलन लिम्बुको प्रहार मोरङका गोलरक्षक पूर्ण चेम्जोङले रोकेसँगै मोरङ फाइनलमा पुगेको हो । पूर्ण म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

मोरङको तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेत्रि, आदित्य शाक्य, सागर तिर्वा र अशोक खवाशले गोल गर्नुभयो । धरानको तर्फबाट दोर्जे तामाङ, बिजय राई, अनिल राई र सुगम जिमिले मात्र गोल गर्न सक्नुभयो । 

बिहिबार एनआरटी क्लब काठमाडौँ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबिच अर्को सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।