• १३ साउन २०८१, आइतबार

बल्दे धुरालसैन सडक निर्माण ढिलाइ

blog

निर्माण कार्यमा अलपत्र परेको बल्दे आटिचौर सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन ३० गते । बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माण कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सो सडक निर्माणको काममा ढिलाइ भएको हो ।

२०७९ साल चैत मसान्त काम सम्पन्न गर्नेगरी २०७७ साल असारमा जयदेवि एस, एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

सेरा आटिचौर सडक निर्माणको जिम्मेवार लिएको सो ठेकेदार कम्पनीले, समयमै काम पुरा नगरेपछि अहिले सो सडकमा स्थानीयलाई आउजाउ गर्न समेत निकै सास्ती खेप्नु परेको यहाँका स्थानीय बताउँछन् ।

सडक स्तरोन्नति नहुँदा बह्रमतोला, कुँडी, डुग्री, आटिचौर र डोगडीका स्थानीयलाई हिउँद बर्खामा आउजाउ गर्न सास्ती खेप्दै आउनु परेको बूढीगङ्गा नगरपालिका-२ का स्थानीय बहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि सडकको स्तरोन्नति नहुँदा सो क्षेत्रका स्थानीयवासीलाई बर्खाको झरीले बाटो अवरुद्ध हुने गरेकोले बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने समेत समस्या हुन्छ ।”

वि.स २०६५-०६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटिचौर सम्मको कच्ची सडकको निर्माण कार्य सम्पन्न गरेपछि छोटा दुरीका सवारी साधना सञ्चालनमा आएका थिए । यो सडकले बूढीगङ्गा नगरपालिकाको-२ को बल्दे देखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङ छोएको छ । 

पहिले कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । उता डोगडीदेखि आटिचौर लगायतका स्थानीयहरू यही सडकबाट दैनिक कामकाजका लागि साँफे मार्तडी लगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गर्दछन् । लामो समयको निर्माणाधीन यो सडकले हिउँद बर्खाको बेला बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्यका सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।

ठेकदारको लापरबाहीले सेरा आटिचौर सडकको कालोपत्रे काममा निकै ढिलाइ भएपछि अहिले यहाँका स्थानीयवासीलाई आउजाउमा समेत समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरी स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापरबाहीका कारण सधैँ यसरी नै अलपत्र पर्ने गरेकोले यहाँका स्थानीयलाई सधैँ यसरी नै सास्ती खेप्दै आउनु परेको छ । 

कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको जयदेवि एस.एस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिला कोरोनाको कहर तथा मूल्य वृद्धि र गिट्टी नभएकोले समयमा काम गर्न नसकेको हो ।”

२०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असारसम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झण्डै ११ करोडमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७७ साल असारमा सेरा आटिचौर सडक अन्तर्गत बल्देदेखि धुरालसैन सम्मको झण्डै ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७९ चैत मसान्त सम्म पुरा गर्ने गरी जिम्मा लिएको हो । ”

गत वर्ष २०८० को असार मसान्त सम्ममा काम सम्पन्न गर्नेगरी फेरी म्याद थपिएपनि अहिले सम्म काम सम्पन्न नभएकोले पुन काम गर्न लगाउने गरी पत्राचार गरेको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख बोगटीले बताउनुभयो ।