• १६ वैशाख २०८१, आइतबार

सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई गाउँपालिकाको नगद उपहार

blog

आँबुखैरेनी गाउँपाकिामा सामुदायिक विद्याललयमा अध्ययनरत विद्यार्थी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन ३० गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ । सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म अध्ययनरत छात्रालाई  एक हजार बचत मौज्दात सहित छात्रा बचत खाता खोलिदिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । 

मङ्गलबार कार्यपालिकाको वैठकले निर्णय गरेको चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, "सानैदेखि बचत गर्ने बानीको विकास, आफ्नो रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशिल विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुग्ने लक्ष्य छ ।" छात्र सरह छात्रा पनि शैक्षिक अवसर पाउन टेवा पुग्ने अपेक्षा पालिकाले लिएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै छोरासरह छोरीले पनि अध्ययनका लागि अवसर पाउन् भन्ने मूख्य उद्देश्य रहेको उपाध्यक्ष दुर्गा अर्याल बताउनुहुन्छ । उपाध्यक्ष अर्यालले भन्नुभयो, "बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा गरेका छौं ।" 

शैक्षिक सुधार अभियान अन्र्तगत गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएकोे छ  । सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकबाट गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेका छन् । 

सामुदायिक विद्यालयको शैक्षिक सुधार अन्तर्गत आँबुखैरेनीका गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकोमा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष चुमानले सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन, शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न जनप्रतिनिधिका साथसाथै शिक्षक तथा कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्य अनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले मद्दत पुग्ने विश्वास लिएका छौँ  ।” जनप्रतिनिधिका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको शैक्षिक अवस्थामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम भएको र शिक्षक तथा कर्मचारीले भर्ना गरेपछि थप सुधार हुने अपेक्षा गाउँपालिकाले गरेको छ । 

पालिकामा कार्यरत कर्मचारी र शिक्षकलाई पनि सामुदायिक विद्यालयमा नै छोराछोरी पढाउन आग्रह गरिएको निवेदन पठाएपछि प्रधानाध्यापकको बैठकले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकामा ३२ जना जनप्रतिनिधिले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गरेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी पालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक विकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा नं. ४, ५ र ६ गरी तीन वटा वडामा यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक नियम, कानुन निर्माण गरी बजेट व्यवस्थापन गरिसकेको छ । प्रतिव्यक्ति सात सय रुपियाँका दरले गाउँपालिकाले प्रिमियम तिरिदिएपछि बिमितले एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा पाउनेछन् । यसले शिक्षा र स्वास्थ्य दुवैमा सुधार हुने विश्वास गाउँपालिको छ ।  शैक्षिक सुधार अभियान अन्तर्गत सन्तानलाई सामुदायिक विद्यालयमा पठाएका परिवारलाई कर छुट दिने तयारी पनि गरिएको छ । 

सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ५ सम्मका सबै एक हजार दुई सय विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भवनतर्फ गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्कबेन्च फेर्ने लगायतका काम चैत मसान्तसम्ममा पूरा गरिसक्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिमा जोड्ने काम भइरहेको छ । भौगोलिक रुपमा विकट रहेका केही स्थानमा विद्यालय पुग्न विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेकाले त्यस्तो ठाउँमा ‘विद्यालय बस’ सञ्चालन गरिएको छ  ।