• २१ वैशाख २०८१, शुक्रबार

गिद्धको वासस्थान संरक्षणमा सामाजिक सङ्घसंस्थाको चासो

blog

महोत्तरी, फागुन २९ गते । लोपोन्मुख पक्षी गिद्धको वासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको वासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् । 

बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगरपत्रकार सञ्जालले यही फागुनदेखि संरक्षण अभियान थालेका हुन् । तराईका फाँटमा गिद्ध बस्ने ठुलाठुला सिमलका रुख मासिएसँगै लोपोन्मुख यी पक्षी बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको चुरे पर्वत श्रेणीको थुम्कोमा बथानमै देखा परेका हुन् । लोपोन्मुख गिद्धको वासस्थान देखिएपछि अब यिनको संरक्षणबारे सोच्न आवश्यक भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउनुहुन्छ ।

“गिद्धको वासस्थान नजिकका गुफा र रुखको संरक्षणमा अब योजनाबद्ध पहलकदमी आवश्यक छ” खड्का भन्नुहुन्छ, “यसबारे वनसम्बद्ध र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले चासो बढाउनुपर्छ ।” पहाडी थुम्कोमा अहिले लोपोन्मुख पक्षी गिद्ध १०० भन्दा बढी रहेका उहाँले राससलाई बताउनुभयो । पदमार्ग यात्राका सहभागीले पहिलो पटक गिद्ध वासस्थान देखे पनि राईमण्डल शिरका बासिन्दा यो गिद्धको पुरानो थातथलो रहँदै आएको बताउँछन् । दुई दशक पहिले यहाँ फुल पार्न र बच्चा कोरल्न बस्ने र अन्य समय आहाराको खोजीमा यहाँका गिद्ध बाहिर जाने गरेका राईमण्डलका ६० वर्षीय दिलबहादुर राना मगर बताउनुहुन्छ । 

पहिले निकै ठुलो बथान भए पनि चर्न जाँदा सिनोमा विषादीको असरले धेरै मरेपछि गिद्धको सङ्ख्या निकै खस्केको बताउनुहुन्छ । दुई दशकअघिसम्म महोत्तरीका भारतीय सीमावर्ती बस्तीसम्म बाक्लै देखिने गिद्ध अब देखिँदैनन् । मरेका पशुबस्तुको सिनो मुख्य आहारा र ठुलाठुला सिमलका रुख वासस्थान गिद्धको हुनेगथ्र्यो तर सिमलका रुख सबै मासिएपछि गिद्ध हराउँदै गएर अब देखिनै छाडेका जिल्लाका मध्य र दक्षिणीक्षेत्रका बासिन्दा बताउँछन् ।

मकैखेती गर्ने किसानले  बोटमै घोगा खोसलेर दुःख दिने स्याल नियन्त्रणका लागि  बगरमा फालिएको सिनोमा विषादी मिलाउँदा त्यसको असरले सयौँ गिद्ध मरेका १५ वर्षअघिको घटना भङ्गाहा-५ सीतापुर धतियाटोलका ७० वर्षीय योगेन्द्र यादव सम्झनुहुन्छ । “त्यसयता गिद्ध देखिएकै छैनन्, सिमल पनि मासिए” यादव भन्नुहुन्छ,“अहिले बर्दिबासको राईमण्डलतिर बथानमै गिद्ध देखिएका सुनिन्छ, अहिले बर्दिबासमा बथान भेटिएको सुन्दा हेर्न जाउँजाउँ लागेको छ ।”

गिद्ध र यिनका वासस्थान संरक्षणका लागि अब मुख्य रूपले स्थानीय तहले पहलकदमी लिनुपर्ने बर्दिबास नगरपत्रकार सञ्जालका सचिव विशाल बस्नेत बताउनुहुन्छ । “पश्चिमतिर (नवलपरासी, दाङ) गिद्ध संरक्षणमा योजनाबद्ध काम थालिएको सुनिन्छ, त्यसको अवलोकन गरेर यहाँ पनि अनुकरण गर्नसके यी लोपोन्मुख पक्षीको संरक्षणमा बल पुग्नेछ” बस्नेत भन्नुहुन्छ, “स्थानीय तह, वनसम्बद्ध निकाय र स्थानीय सामाजिक सङ्घसंस्थाले संरक्षण कार्यभार गरे लिए यो सम्भव छ ।” बथानमै गिद्ध देखिएपछि नवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुराँ र त्यहाँ हुने गिद्धको चहलपहल अवलोकन गर्ने रहर जागेको बस्नेत बताउनुहुन्छ ।

यसपालि फागुन लागेसँगै सुरु गरिएको चुरे पर्वत श्रेणीको पदमार्ग यात्राका क्रममा पर्यटन प्रवद्र्धनका धेरै सम्भावना देखिएमध्ये गिद्धको वासस्थान मुख्य भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको भनाइ छ । “पदयात्राका क्रममा हामीले यहाँको पर्यटन प्रवर्द्धनका कैयौँ सम्भावना देख्यौँ, जसमा राईमण्डल धार्मिकक्षेत्र, सिद्धगुफा, परेवापाखा, दुर्लभ जडीबुटीका लामो फाँट, पहाडी रहनसहन र स्थानीय लोकपरम्परा छन्” कार्की भन्नुहुन्छ, “यससँगै बथानमै भेटिएका गिद्ध पन्क्षी, मयूर र अन्य वन्यजन्तुको संरक्षणका विषय छन्, ठाउँ छन्, हामीले तत्परता देखाउन सक्नुपर्‍यो ।”

अहिलेसम्म तीन साताको पदमार्ग यात्रामा बर्दिबास-१ र ३ मात्र सकिएको छ । महोत्तरीमा पर्ने चुरे सबै बर्दिबास नगरक्षेत्रमै पर्छ । पूर्व-पश्चिम राजमार्गमा जिल्लाको दुरी १८ किलोमिटर मात्र भए पनि पहाडी खोचमा यो दूरी झण्डै ४० किलोमिटर परको छ । पहाडी गोरेटो बाटो छिचोल्दै स्थानीय जनजीवन बुझेर पर्यटकीय सम्भावनाबारे अध्ययन, छलफल गर्दै हिँडिदा आफूहरुको यात्रा पूरा हुन दुई महिना लाग्ने पदमार्ग यात्रीको आकलन छ ।

पदमार्ग यात्रामा सहभागी तीनवटै संस्थाले यो टुङ्गिएपछि स्थानको परिचय, महत्त्व र सम्भावनाबारे प्रतिवेदन बर्दिबास नगर कार्यपालिकाको कार्यालय, मधेश प्रदेश मन्त्रिपरिषद् सचिवालय र प्रधानमन्त्री कार्यालयसँगै पर्यटनसम्बद्ध निकायमा बुझाइने जनाएका छन् । रासस