• १३ साउन २०८१, आइतबार

वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व पुरस्कृत

blog

विलक्षण प्रतिभा भएका नन्दराज भट्टलाई सम्मान गरिँदै ।

अविनाश चौधरी

धनगढी, फागुन २९ गते । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएकालाई पुरस्कृत गरेको हो । 

पाठशालाले वरिष्ठ साहित्यकार यज्ञराज यात्रीलाई चैतन्य साहित्य साधना पुरस्कार २०८०, तेक्वान्दो प्रशिक्षकलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरिएको छ । दुवै पुरस्कार राशि २५ हजार रुपियाँ रहेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले जानकारी दिनुभयो । 

यसैगरी, ठाडी भाकाको गायिका डिक्रादेवी गाइनेलाई चैतन्य कला संस्कृति साधना पुरस्कार २०८० प्रदान गरिएको छ । सो पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ । 

यस्तै, पाठशालाका संस्थापक प्रधानाध्यापक उदयप्रताप सिंहलाई चैतन्य संस्थापक प्रधानाध्यापक एवम् सञ्चालक सम्मान प्रदान गरिएको छ । पाठशालाले सुदूरपश्चिममा विभिन्न क्षेत्रमा रहेर अनुकरणीय काम गरिरहेका व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । 

सम्मानित हुनेमा उत्कृष्ट पेसाकर्मी डा. मिराज आलम अन्सारी, उद्यमी डिल्लीराज अवस्थी, सामाजिक अभियन्ता यादवप्रसाद जोशी, युवा उद्यमी हिक्मत कुँवर, अनुकरणीय व्यक्ति क्याप्टेन वेद उप्रेती, वरिष्ठ समाजसेवी ओमप्रकाश अग्रवाललाई रहनू भएको छ । सामाजिक अभियन्ता एवम् दृष्टि फाउन्डेशनका संस्थापक कल्पना भट्ट, विलक्षण प्रतिभाका व्यक्तित्व नन्दराज भट्ट, प्रेरणादायी युवा एवम् वडा अध्यक्ष गजेन्द्र शाही, बहुआयामिक युवा हरि जोशी, युवा उद्यमी मानसिंह साउँद सम्मानित हुनु भएको छ । 

यस्तै, गणेशबहादुर सिंहलाई स्वास्थ्य सेवा सम्मान, पत्रकार दीर्घराज उपाध्यायलाई चैतन्य सकारात्मक सोच प्रवर्द्धन सम्मान, १०४ पटक रक्तदान गर्ने रक्तदाता दीपकप्रसाद उपाध्याय लगायतलाई सम्मान गरिएको छ ।