• १३ साउन २०८१, आइतबार

थुनुवा पक्रन जाँदा प्रहरीको मृत्यु

blog

भारतीय प्रहरीले पक्राउ गर्दै नेपालबाट भागेर गएका थुनुवा उमेश कुवँर । तस्बिर : दार्चुला समाचारदाता

दार्चुला समाचारदाता
दार्चुला, फागुन २८ गते । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै भागेका थुनुवालाई समात्न खोज्दा एक जना प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ ।

अनुसन्धानको क्रममा थुनाबाट भागेका महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका जवान कैलालीका सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो ।

थुनुवालाई पक्रन खोज्दा भिरबाट खसेर गम्भीर घाइते भएका प्रहरी जवान चौधरीको मृत्यु भएको हो । थुनामा रहेका कुँवरलाई श्रीमती कुटेको आरोपमा पक्रन जाँदा गत माघ ७ गते प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि चक्कु प्रहार गरी फरार भएका थिए । कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

सोमबार जिल्ला प्रहरी कार्यालयको थुनाबाट भागेर कुँवर भारततिर पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय पछाडिको भिरबाट हाम फालेर महाकालीमा पौडी खेल्दै ती थुनुवा भारततिर पुगेको प्रहरीले जनाएको छ ।

कर्तव्यपालनको सिलसिलामा थुनुवा पक्रन भिरबाट जाँदै गरेको अवस्थामा प्रहरी जवानको ज्यान गुमेको हो । भागेर भारत पुगेका कुँवरलाई महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।