• ८ मंसिर २०८१, शनिबार

प्रवासी संस्कृति र अब्बलहरू

blog

हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् ।

मानिस बुढो हुन चाहँदैन । सक्ने भए ऊ सधैँ जवान रहने थियो । ७५ कटेको व्यक्तिलाई पनि बुढो भनिदिनुस् निधारमा गाँठा पार्न थाल्छ । मानिस युवा देखिन किसिम किसिमका उपाय अवलम्बन गर्छ । सेतै फुलेको कपाल मेहदी लगाएर कालो पार्नु । खुइलेको टाउकोमा कपाल ट्रान्सप्लान्ट गर्नु । फेसियल गर्नु । शृङ्गारका प्रसाधन प्रयोग गर्नु । अनुहारको प्लास्टिक सर्जरी गर्नु । ब्युटीपार्लर धाउनु आदि इत्यादि ।  

युवा उमेर जीवनको सबैभन्दा उर्वर समय हो । युवा उमेर जोस जाँगरले भरिएको हुन्छ । युवा युगको आवाज हो । परिवर्तनको संवाहक हो । युवामा समयको धारालाई अलग दिशामा मोड्ने असीम तागत हुन्छ । दुनियाँमा हुने क्रान्ति, आन्दोलन र विद्रोहहरू युवाको सक्रिय सहभागिताबिना सफल हुँदैनन् ।  

युवा को हो, को होइन ? अर्थात् युवा कसलाई भन्ने त ? यसबारे जैन सन्न्यासी ललितप्रभजी ठट्टा गर्दै भन्छन्, ‘‘जिसकी मोबाइल मेँ हसिनोँ का नम्बर होता है वो युवा है । और जिसकी मोबाइल मेँ हकिमोँका नम्बर होता है वो बुढा है !” परन्तु युवा को हो र को होइन भन्ने विषयमा संयुक्त राष्ट्रसङ्घ र केही देशले केही मान्यता बनाएका छन् ।

जर्मन सरकारले १५ देखि १८ वर्षसम्मकालाई किशोर र १८ देखि २१ सम्मका लागि युवा भनेको छ । उता दक्षिण अफ्रिकाले १५ देखि ३४ वर्षभित्रका जवानलाई युवा भनेको छ । नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहका मानिसलाई युवामा गणना गरेको छ । छिमेकी देश भारतले १५ देखि २९ वर्षका जनसमुदायलाई युवामा गणना गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा मानेको छ ।  

यसमा दुई मत छैन कि उमेर युवा र वृद्धलाई विभाजित गर्ने लक्ष्मण रेखा हो । किन्तु उमेर मात्रै सबै कुरा हो भनेर भनिहाल्न चाहिँ सकिँदैन ! यसमा व्यक्तिको स्वास्थ्य र वैचारिक पक्षलाई समेत यथोचित महŒवका साथ हेरिनु पर्छ । अर्थात् कुनै व्यक्ति जड चिन्तनले ग्रस्त छ । वैज्ञानिक मूल्य मान्यतालाई आत्मसात् गर्न हिचकिचाउँछ । अन्धविश्वास, कुरीति, कुसंस्कार, अपसंस्कृतिले गाँजिएको छ । मानसिक र शारीरिक व्याधिले ग्रस्त छ भने उक्त व्यक्तिलाई २५ कै भए पनि युवा भन्दा मन रमाउँदैन । त्यसविपरीत कोही अन्धविश्वास, कुरीति, कुसंस्कार, कुसंस्कृति, सामाजिक विभेदविरोधी छ । मानव समाजको अग्रगामी रूपान्तरणका निम्ति दत्तचित्त रहन्छ । स्वास्थ्यका दृष्टिले तन्दुरुस्त छ भने ऊ असी वर्षको भए पनि युवा कहलाउन लायक व्यक्ति हो !  

किन्तु यसमा ध्यान दिनुपर्ने कुरा के हो भने संसारमा सार्वभौम भन्ने कुनै पनि कुरा छैन । हरेक कुरा देशकाल, परिस्थितिसापेक्ष हुने गर्दछन् । भनाइको तात्पर्य प्रत्येक समाज आआफ्नै मूल्य मान्यताको जगमा अडेका हुन्छन् । कुनै एक देश वा समाजले नैतिक ठहर्‍याएका विषय अर्को देश वा समाजमा अनैतिक मानिन सक्छन् । 

जस्तो कि पाश्चात्य जगत्का निम्ति डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड संस्कृति सामान्य जस्ता लाग्छन् । जब कि पूर्वीय समाजमा त्यस्ता संस्कृति अशोभनीय मानिने गर्छन् । पूर्वीय समाजको ठुलो हिस्साले आफूलाई त्यस्तो संस्कृतिको विपक्षमा उभ्याउने गर्छ । किन्तु उल्लिखित संस्कृति विश्वभर दिन दुगुणा, रात चौगुणा फैलिँदै गएको आभास भइरहेको छ । त्यसबाट नेपालसमेत अछुतो रहेको छैन । 

दृश्य यस्तोसम्म देखिन थालेको छ कि जो बेबिसावर, भ्यालेन्टाइन डे, डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड आदि संस्कृतिलाई सभ्यताको मानक ठान्छ । जो देशमा रोजगारीको अभाव देखाउँदै विदेश उड्न तँछाडमछाड गर्छ । जो पाश्चात्य मुलुकको नागरिक बन्न पाउनुलाई जीवनको महान् सफलता ठान्छ, ऊ नै ‘आधुनिक युवा’ हो भनेर बुझिदिनुपर्ने भएको छ ।   

परन्तु नेपाली युवाका सीमित अँध्यारा पक्ष हुँदाहुँदै असङ्ख्य उत्साहजनक पाटा अनावरण हुँदै गएका छन् । एक वर्षमा पाँचदेखि सात ठाउँमा लोक सेवा आयोगको परीक्षामा नाम निकाल्ने । कृषि उद्यममार्फत स्वदेशमै लाखौँ रुपियाँ आर्जन गर्ने, अनि लाखौँको वैदेशिक कमाइ त्यागेर नेपालमा व्यवसाय गर्ने युवा त्यसका उदाहरण हुन् ।  

गुल्मी जिल्लामा जन्मिएकी २३ वर्षीय विष्णु घर्तीको नाम यस सन्दर्भमा उल्लेखनीय हुन आउँछ । विष्णुले एकै वर्षमा लोक सेवा आयोगले लिएको विभिन्न पदको पाँच परीक्षामा नाम निकालेर देखाइन् । यसको अर्को उदाहरण हुन् रोल्पाकी २१ वर्षीय खुसी बुढामगर । उनले त झन् एक वर्षमा आयोगले लिएको सात वटा परीक्षा उत्तीर्ण गरी आफूलाई प्रतिभावान् युवाको पङ्क्तिमा उभ्याइन् । 

तनहुँको चुँदी रम्घामा जन्मिएका २६ वर्षीय अर्बिन रानाभाट गौरवका साथ लिनुपर्ने तेस्रो नाम हो । अर्बिनका धेरै साथी यतिखेर युरोप–अमेरिकामा छन् । उनीचाहिँ प्रयास नै नगरी ‘नेपालमा केही छैन’ भन्दै विदेश हान्निन तयार भएनन् । अर्बिन लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत पदको परीक्षामा प्रतिस्पर्धी बन्न चाहे । सिट थियो १८ । प्रतिस्पर्धी थिए १६ हजार ! आखिर सबैलाई चाहिने एउटै सिट हो । अर्बिन रानाभाटले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर देखाए । उत्तीर्ण मात्र होइन, बाँकी सबै प्रतिस्पर्धीलाई टप गरे । अर्थात् आफूलाई नम्बर एकको स्थानमा उभ्याएर देखाए । त्यति मात्र होइन, अर्बिनले प्रदेश लोक सेवा आयोगले लिएको अन्य चार परीक्षामा समेत सफलता हात पारे । 

दुबईको रेस्टुराँमा आठ वर्ष काम गरेर नेपाल फर्केका सुजन सफलताको अर्को पात्र हुन् । उनले केही वर्षदेखि काठमाडौँको रामकोटमा ३० रोपनी जमिन भाडामा लिई कृषि व्यवसाय गरिरहेका छन् । “दुबईमा पैसा थियो तर लाइफ थिएन । विदेशीको गुलाम बन्नुपर्दथ्यो । त्यहाँ मालिकको इसारामा काम गर्नुपर्दथ्यो । यहाँ म आफैँ मालिक छु,” सुजन सगौरव सुनाउँछन् । 

सात वर्ष दुबई बसेर नेपाल फर्केका सागर श्रेष्ठ सम्झनलायक अर्का युवा हुन् । दुबईको युपिएस कुरियर कम्पनीमा काम गर्दा महिनाको सात÷आठ हजार दिराम (करिब दुई लाख ५० हजारदेखि तीन लाख नेपाली रुपियाँ) पारिश्रमिक बुझेका सागरले त्यो छाडेर नेपालमा कृषि व्यवसाय सुरु गरे । यतिबेला उनी दिनमै ५० हजारदेखि लाख रुपियाँसम्मको तरकारी बिक्री गर्छन् । 

ललितपुर जिल्लाको लुभुमा अवस्थित किराँत कृषि फार्मकी सञ्चालिका सुधा राईको चर्चाबिना यो लेख अधुरो रहन सक्छ । सुधा राईका ससुरा ब्रिटिस लाहुरे हुन् । सुधाको परिवारका प्रायः सबै सदस्य बेलायत बस्छन् । कोरोनाकालमा दोस्रो पटक भएको लकडाउनअघि नेपाल आएपछि बेलायत फर्किनन् उनी । सुधाले स्वदेशमै कृषि उद्यम सुरु गरिन् । सुधा वार्षिक ४५–५० लाख लगानीबाट ८५ लाख नगद आर्जन गरेको बताउँछिन् ।

विष्णु घर्ती, अर्बिन रानाभाट, सुधा राई, सागर श्रेष्ठहरू तीन करोड नेपालीका प्रेरणाका स्रोत हुन् । आशा गरौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पङ्क्तिबद्ध हुँदै विदेश उड्न लालायित प्रत्येक युवाले अर्बिन रानाभाट, सुधा राईहरूको परिश्रम र मेहनतको कथा पढ्ने छन् । 

हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् । प्रतिकूल परिस्थितिसँग सङ्घर्ष गर्दै मातृभूमिको धुलोमैलोसँग खेल्नेहरूले नै भोलिको नेपाल हाँक्ने सौभाग्य पाउँछन् । भोलि कसले जानेको छ र ? हुन सक्छ, कुनै दिन धुलोमैलोका तिनै खेलाडी मुलुकको प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपतिको सम्मानित आसनमा पुग्ने छन् । सचिव, मुख्यसचिवको कुर्सीबाट समग्र नेपाललाई दिशानिर्देश गर्ने छन् ।  

Author

प्रकाश तिवारी