• १६ भदौ २०८१, आइतबार

महिला दिवसका अवसरमा बेनीमा प्रभातफेरी

blog

बेनीमा महिलाहरूले निकालेको प्रभातफेरी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन २५ गते । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दीको बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा आयोजना गरिएको प्रभातफेरीमा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।  

‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । 

महिला अधिकार स्थापित गराउन विभिन्न नारा लेखिएका प्लेकार्डसहित निस्किएको र्‍यालीले महिला अधिकारका पक्षमा नारा लगाउँदै बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभा हलमा म्याग्दी जिल्लामा महिलाको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीले सहयोग गरेका छन् । प्रभातफेरीमा जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको सहभागिता रहेको थियो ।