देवरामप्रसाद यादव
सप्तरी, फागुन २२ गते । सप्तरीको विभिन्न ठाउँका महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी सुरु भएको छ । जिल्लाको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी तीव्र रूपमा भइरहेको छ ।
यस वर्ष महाशिवरात्रिको अवसरमा हजारौँ श्रद्धालु आउने अनुमानसहित आवश्यक तयारी सुरु गरिएको हो । फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्रि परेको छ । मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष राजदेव मण्डलको अध्यक्षतामा बसेको बैठकले महाशिवरात्रिका दिन यस पटक हजारौँ श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी सुरु गरेको छ ।
महाशिवरात्रिको तयारीका लागी रंगरोगन, सरसफाइ, मञ्च व्यवस्थापन, दीपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष मण्डलले बताउनुभयो । मन्दिरको रंगरोगन, सरसफाइका साथै भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्थाका लागि स्वयंसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाइने तयारी भएको अध्यक्ष मण्डलले बताउनुभयो ।
मूल पुजारी गोपाल गिरिले मन्दिर परिसरमा भजन, कीर्तन, दिव प्रज्वलन लगायतका धार्मिक कार्यक्रमका साथै दण्ड प्रणामको लागी बाटोमा बालुवा, पानी छड्किने लगायतका कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
यसैबिच हरिन्देश्वर महादेव मन्दिरको समेत रंगरोगनको काम भइरहेको मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष ध्रुव कुमार देवले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्थाका लागी स्वयंसेवकका साथै जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँले यस मन्दिरमा महाशिवरात्रिका दिन भजन, कीर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन लगायतको कार्यक्रमको आयोजना समेत गर्ने जानकारी सञ्चारकर्मीलाई दिनुभयो ।
यस्तै, सप्तरीस्थित भजनेश्वरनाथ, ढाडाको शिव मन्दिर, शम्भुनाथ, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरूमा पनि महाशिवरात्रिमा पूजा धूमधामकासाथ आयोजना गर्ने तयारी सुरु गरिएको सम्बद्ध मन्दिर समितिहरूले बताएको छ ।