• १३ असोज २०८१, आइतबार

नइका सिक्का र टिकट लोकार्पण

blog

काठमाडौं, फागुन २० गते । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गर्नुभएको छ । 

नेपाल राष्ट्र बैङ्कबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैङ्कबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँबाट मन्तव्य प्रकट भएको थियो ।